तपाईँ सुन्दै हुनुहुन्छः

प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

गाजा । गाजा पट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता  रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ । 

प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै सङ्ख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ ।

मध्य गाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखे पनि औषधि र इन्धनको गम्भीर अभावले जीवन रक्षाको कार्यमा बाधा पुगेको छ ।

युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ । “भिडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,” युएनआरडब्लुएले उल्लेख गरेको छ । 

क्यान्सर भएका २१ जना प्यालेस्टिनी बालबालिका बिहीबार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए । मे महिनाको सुरुमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीहरूले पहिलो पटक गाजा छोडेको स्वास्थ्य अधिकारीहरूले बताए ।

बिरामीहरू बाहिर निस्कन ‘गाह्रो र जटिल भएकाले रफाह सीमा पारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालहरूका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।  

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।  

आक्रमणका कारण करिब एक हजार दुई सय  मानिस मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन् ।रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button