तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: तत्काल शिक्षक दरबन्दी बढाउन सरकारसँग माग

काठमाडौँ । देशैभरका सामुदायिक  विद्यालयहरूमा शिक्षक अभाव हुँदा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले तत्काल शिक्षक दरबन्दी बढाउन सरकारसँग माग गर्नुभएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गणित, विज्ञान र अङ्ग्रेजी विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएकाले तत्काल यी विषयका शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

वैदेशिक रोजगारीमा गएका युवाहरूले विभिन्न देशमा ज्यान गुमाउनुपरेको भन्दै सांसदहरुले सरकारले युवाहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले धार्मिक पर्यटन बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लगायतलाई घरघरमै गएर राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउनुपर्ने,  किसानहरूलाई रासायनिक मल सहजरुपमा पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा जल स्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलस्रोत विधेयक २०८१ प्रस्तुत गर्नुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक असार १६ गते आइतबार दिउँसो ३ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button