तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दो

सिन्धुपाल्चोक (चौतारा) । कुनै बेला ओझेलमा परेको आयुर्वेद उपचार विधिप्रति पछिल्लो चरणमा भने बिरामीहरूको आकर्षण बढ्न थालेको छ । 

आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको भीड लागेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २१ हजार २ सय ४७ जना सेवाग्राहीले चिकित्सालयबाट विविध स्वास्थ्य सेवा लिएको चिकित्सालयले जनाएको छ । आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको विश्वास बढ्न थालेपछि चिकित्सालयले पनि थप सेवाहरू सुचारु गरेको डा. अञ्जु कार्कीले  जानकारी दिनुभयो । चिकित्सालयमा बहिरङ्ग सेवा बाहेक स्तनपायी, पूर्व कर्म, पञ्चकर्म, योग, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्य आहार र ज्येष्ठ नागरिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका चिकित्सालयले जनाएको छ । अकुपञ्चर गर्ने बिरामीको सङ्ख्या धरै हुन सक्ने भएपनि दक्ष जनशक्तिको अभावमा अकुपञ्चर सेवा भने हाल स्थगन गरिएको डा. कार्कीले जानकारी दिनुभयो । 

पछिल्लो समय युवाहरू भन्दा पनि ज्येष्ठ नागरिकहरू उपचारका लागि आयुर्वेद जान थालेका छन् । एक प्रकारले चिकित्सालय महिला र ज्येष्ठ नागरिकहरूको उपचारको केन्द्र नै बनेको  डा कार्कीले बताउनुहुन्छ । हुन पनि तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १३६४ जना पुरुष र १३६९ जना महिला गरि जम्मा २७३३ जना ज्येष्ठ नागरिकले सेवा लिएको छ । गत आर्थिक वर्षमा जम्मा २२५१ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

पछिल्लो समय चिकित्सालयमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सालयले पनि अस्पताल निर्माणका लागि पहल थालेको छ । हालको चिकित्सालय बस्तीबाट अपायक ठाउँमा रहेको  कारण पायक पर्ने ठाउँमा चिकित्सालयका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । चिकित्सकसहित झण्डै ११ जनाको दरबन्दी रहने सो अस्पतालका लागि झण्डै सात रोपनी जग्गाको आवश्यक पर्ने र जग्गाका लागि नगरपालिकाले खोजी कार्य गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button