तपाईँ सुन्दै हुनुहुन्छः

गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

निकोसिया (साइप्रस)  । साइप्रसका विदेशमन्त्रीले बिहीबार मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा अमेरिकाद्वारा निर्मित घाटतर्फ गइरहेको बताउनुभएको छ । 

अमेरिकाद्वारा गाजामा निर्मित र्‍याम्पमा यो पहिलो डेलिभरी हो । गाजामा मानिसहरू अनिकालको सङ्घारमा छन् । इजरायली सेनाले गाजाको दक्षिणी सहर रफाहबाट एक लाख प्यालेस्टिनीलाई निस्कन आदेश दिएपछि संयुक्त राष्ट्रसङ्घले राहतको अत्यन्तै आवश्यकता रहेको बताएको छ । 

यसै साताको प्रारम्भमा इजरायलले प्रभावित क्षेत्रमा सहायता प्राप्त गर्न आवश्यक महत्त्वपूर्ण क्रसिङलाई बन्द गर्दै इजिप्ट नजिकैको रफाह क्रसिङ कब्जा गर्न ट्याङ्क पठायो । 

युद्धविरामका लागि अन्तर्राष्ट्रिय प्रयासहरू जारी रहेका बेला इजरायलले रफाहमा पूर्ण आक्रमण सुरु गर्छ वा गर्दैन भन्ने अनिश्चित छ । इजरायलले दक्षिणी इजराइलमा लडाकु समूहको अक्टोबर ७ को आक्रमणपछि हमासलाई समाप्त पार्ने उसको लक्ष्यका लागि रफाहमा आक्रमण महत्त्वपूर्ण रहेको बताएको छ । 

रफाह आक्रमणको विरोध गरेको संयुक्त राज्य अमेरिकाले सर्वसाधारणलाई बाहिर निकाल्ने र उनीहरूको सुरक्षाका लागि इजरायलले कुनै विश्वसनीय योजना प्रदान नगरेको बताएको छ । 

साइप्रसका विदेश मन्त्री कन्स्टान्टिनोस कोम्बोसले धेरै आवश्यक मानवीय सहायताले भरिएको अमेरिकी जहाज सामुद्रिक करिडोरमार्फत गाजामा सकेसम्म धेरै सहायता हस्तान्तरण गर्ने उद्देश्यले प्रस्थान गरेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा तटभन्दा धेरै किलोमिटर टाढा फ्लोटिङ प्लेटफर्म निर्माण गर्न आदेश दिएको करिब दुई महिनापछि यो ढुवानी भइरहेको छ । 

यद्यपि मानवतावादीहरूले सामुद्रिक मार्गबाट आउने सहायता गाजामा गम्भीर मानवीय पीडा कम गर्न पर्याप्त नहुने भन्दै सहायता प्राप्त गर्ने प्रभावकारी तरिका स्थल मार्ग भएको बताएका छन् । 

यो साता रफाह क्रसिङ र नजिकैको केरेम शालोम क्रसिङ बन्द हुँदा सहायता खाद्यान्न, आपूर्ति र इन्धनका ट्रक र जेनेरेटहरूका लागि प्रवेश बन्द भयो । गाजा वरपर मानवीय अभियान र अस्पताल बन्द हुनुभन्दा अघि आफूहरूसँग केही दिनका लागि मात्र इन्धन रहेको सहायता समूहहरूले चेतावनी दिएका छन् । 

इजरायलले बुधबार केरेम शालोमलाई पुनः खोलेको बताएको छ । हमासको मोर्टारले नजिकैका चार इजरायली सैनिक मारिएपछि उक्त क्रसिङलाई इजरायलले बन्द गरेको थियो । यद्यपि कुनै पनि ट्रक गाजातर्फ प्रवेश नगरेको सहायता समूहहरूले बताएका छन् ।  रासस /एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button