तपाईँ सुन्दै हुनुहुन्छः

सङ्गीत प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण

काठमाडौँ ।  रेडियो नेपालले ११ औँ सङ्गीत प्रशिक्षणमा सहभागी विभिन्न विधाका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । 

रेडियो नेपालमा आज आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । 

कार्यकारी निर्देशक केसीले गीत सङ्गीतको संरक्षणमा रेडियो नेपाल लागिरहेको र पुराना गीत सङ्गीत सुन्न र गीत रेकर्ड गर्न रेडियो नेपाललाई एउटा अवसरका रुपमा प्रशिक्षार्थीले लिनुपर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले सङ्गीतको जननी रेडियो नेपालमा निवृत्त जीवन बिताइरहेका व्यक्तित्वहरू सङ्गीतका विभिन्न विधा सिक्न आउँदा सबैलाई उत्प्रेरणा मिलेको र सिक्ने काममा उमेरले नछेक्ने बताउनुभयो । 

रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलक जङ्ग बुढाथोकीले रेडियो नेपालमा सिकेका कलालाई व्यवहारमा उतारी सक्षम बन्न प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल, सङ्गीतका क्षेत्रमा योगदान गरेका व्यक्तित्वले साधना गरेको भूमि भएको र गीत सङ्गीतको संरक्षण गर्नु प्रमुख दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा सङ्गीत शाखा प्रमुख मनराज नकर्मी, प्रशिक्षार्थीका तर्फबाट मोहन रमण भट्टराई, खेम मोक्तानले आफ्ना अनुभव सुनाउनुभएको थियो । 

गत वर्षको साउनदेखि सञ्चालन गरिएको सङ्गीत प्रशिक्षणमा गायन, हारमोनियम, तबला, गितार, मादल, बाँसुरी, सारङ्गीमा गरी ९० जना प्रशिक्षार्थी सहभागी हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button