तपाईँ सुन्दै हुनुहुन्छः

अजिरकोटमा फल्न थाले स्याउ

गोरखा । जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ का देउराली र  नाप्लुङमा स्याउ फल्न थालेका छन् । 

अघिल्लो बर्ष इटालीबाट ल्याइएका फुजी, गोल्डेन र रेड डेलिसियस जातका स्याउमा फल लाग्न थाले पछि किसानहरू हर्षित भएका छन् । यतिबेला छिरिङ तामाङको बगैँचामा ५००, सोमराज गुरुङको बगैँचामा ३०० र भिम तामाङको बगैँचामा २०० वटा स्याउका बोटहरू रहेका छन् । लगाएको पहिलो वर्षामा नै दुई चार वटा  दाना फल लागे पनि यसपालि धेरै नै फल लागेको किसान छिरिङ तामाङले जानकारी दिनुभयो । चिसो हावापानीमा हुने स्याउ खेतीका लागि किसानहरूको हितमा गाउँपालिकाले काम गरिरहेको कृषि प्राविधिक सन्त बहादुर कार्कीले बताउनुभयो । स्याउलाई तुषाारो र  हिउँबाट जोगाउन प्राविधिक सुधारका कामहरू भइरहेको कार्कीको भनाइ छ। 

स्याउसँगै यहाँका किसानहरुले स्ट्रबेरी, खुर्पानी लगायतका फलफूल, सतुवा लगायतका जडीबुटी, आलुखेती गर्दै आएका छन् । मौसम परिवर्तनसँगै आउने असिनापानीले खेतीलाई असर गर्ने गरेको किसान सोमराज गुरुङ बताउँछन् । बगैँचामा टनेलको व्यवस्था हुनसके असिनाबाट हुने क्षति कम गर्न सकिने अर्का किसान भिम  तामाङको भनाइ छ । व्यावसायिक रुपमा उत्पादन सुरु भए लगत्तै स्याउ खेतीको विस्तार गरी उत्पादन वृद्धि गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताउनुभयो । 

जिल्लाको चुमनुब्री गाउँपालिकाको नामरुङमा सबैभन्दा ठूलो स्याउ बगैँचा रहेको छ । स्याउ खेती हुने सम्भावित क्षेत्रहरू चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र अजिर कोट गाउँपालिका रहेका कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मिरा चौधरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button