तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल समावेशी प्रसारणको साझा चौतारी : मन्त्री गुरुङ

रेडियो नेपालबाट दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु

काठमाडौँ । रेडियो नेपालले आजदेखि दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु गरेको छ ।

रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा आज एक समारोहबीच २५ औँ भाषाका रुपमा दनुवार भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गरेको हो ।

दनुवार भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपालमार्फत दनुवार भाषाको प्रसारणले सबै जातजाति, वर्ग र समुदायलाई एकताको सूत्रमा बाँध्ने राज्यको दायित्वलाई पुरा गरेको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले रेडियो नेपाल समावेशी प्रसारणको साझा चौतारीका रुपमा स्थापित भएको भन्नुहुँदै जनतालाई सुसूचित गर्ने अभिभारा पुरा गर्न प्रसारणलाई अझ बढी सुदृढ र व्यवस्थित बनाउनुपर्ने पनि बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा रहेकाले प्रसारणलाई बढी समावेशी र समानुपातिक बनाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले जनताका निराशालाई चिर्न सरकार अर्थतन्त्रको सुधार, रोजगारी सृजना र विकास निर्माणका क्षेत्रमा प्रतिबद्ध भएर अघि बढिरहेको पनि बताउनुभयो ।

समारोहमा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले रेडियो नेपालमार्फत दनुवार भाषाको समाचार प्रसारणले सबै जातजाति र भाषाभाषीलाइ एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष राधिका अर्यालले दनुवार भाषाको प्रसारणले नेपालको समावेशिता, विविधताको प्रवर्द्धनमा इँटा थप्ने काम गरेको बताउनुभयो ।

सचिव अर्यालले दनुवार भाषामा प्रसारणको माध्यमबाट दनुवार भाषा, संस्कृतिको जगेर्ना र संरक्षणमा सहयोग पुग्नुका साथै यस समुदायमा राज्यप्रतिको अपनत्व समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भौगोलिक विकटतामा रहेका हरेक वर्ग समुदायलाई सुसुचित हुने अधिकारको प्रत्याभूत गराउन रेडियो नेपालले आफ्नो प्रसारणलाई थप समावेशी बनाउँदै लगेको बताउनुभयो ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा, लिपी र संस्कृतिको प्रवर्द्धन र यसका चुनौतीहरूमा रेडियो नेपाल र आयोगले मिलेर महत्वपूर्ण कार्य गर्न सक्ने बताउनुभयो ।

दनुवार जागरण समितिका महासचिव चेतनारायण दनुवारले रेडियो प्रसारणले लोप हुने अवस्थामा पुगेको दनुवार भाषाको जगेर्ना र जनचेतना फैलाउनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button