तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ प्रहरी दिवसको अवसरमा बोल्दै उहाँले विभिन्न कालखण्डमा नेपाल प्रहरीले धेरै चुनौतीको सामना गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

“अहिले पनि सीमित स्रोत, साधनबीच नेपाल प्रहरीले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने चुनौती छ, तैपनि आफ्नो काम, कर्तव्यप्रति दृढ छ”, उहाँले भन्नुभयो ।

मुलुक सङ्घीयतामा गएपनि सङ्घीय सरकारले बनाउनुपर्ने ऐन, कानुन नबनेका कारण प्रदेशका कतिपय अधिकार  अन्योलमै रहेको मुख्यमन्त्री शाहको भनाइ छ । “यसैभित्र प्रहरी समायोजन पनि पर्दछ, प्रहरी समायोजन हुन्छ, हुँदैन त्यसको जवाफ सङ्घीय सरकारले दिनुपर्दछ, नेतृत्वले दिनुपर्दछ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहले प्रहरी सङ्गठनलाई दुरुस्त राख्न प्रदेश सरकार सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीका सहायक रथी, सशस्त्र प्रहरी बल नेपाल नंं ७ वैधनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, सञ्चारकर्मीलगायतका सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button