तपाईँ सुन्दै हुनुहुन्छः

मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी

काठमाडौँ । दुर्गा पक्ष एवं बडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछि देखि भने नवदुर्गाको प्रसाद लगाउने क्रम जारी राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका तथा जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ ।

यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो ।

महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा चहलपहल कम देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले चहलपहल बढी देखिन्छ ।

राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन कठिन नभएको मान्यजनकहाँ आशीर्वाद लिन हिँडेकाहरूले बताए । टीकाथलीमा आफन्तकहाँ जान लाग्नुभएका मङ्गलबहादुर श्रेष्ठ यो वर्ष सार्वजनिक सवारीसाधन सहजै पाइएको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button