तपाईँ सुन्दै हुनुहुन्छः

सडक बिस्तार भएसँगै धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि

अर्घाखाँची । विशेष शक्तिपीठको रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । चट्टानी डर लाग्दो भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरूलाई सहजता भएको छ ।

गोरुसिङ्गे सन्धिखर्क सडकको देउराली खण्डमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि रक एन्चोर्ज प्रयोग गरी ड्रिल गरेर आरसीसी ढलान मार्फत सडक  विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।

लाहुरे बजार देखि सुपा मन्दिर सम्मको पहिलेको सडकको चौडाइ मुस्किलले साढे ४ मिटर    हुँदा यातायात आवागमन साथै भक्तजनमा निकै कठिनाइ रहेको थियो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर क्षेत्रको सडक बिस्तार गरी सहजता भए सँगै मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा समेत बृद्धिभएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ्ग, प्युठान, गुल्मी,रुपन्देहीबाट धेरै मात्रामा पर्यटक आउने गर्छन्  । त्यस्तै भारतको उत्तर प्रदेश, बिहारबाट समेत  धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।

उहाँले सुपा देउरालीमा आएका भक्तजनको लागि लक्षित गरेर भौतिक संरचना निर्माणका कार्यहरू पनि भइरहेको जानकारी दिनु भयो । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ ।

कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button