तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा चक्ला पत्थर झरना

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–७, निबुवातार रहेको चक्ला पत्थर झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउँछ । ‘मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ’,झरनासँग डुबुल्की मार्दै स्वास्थ्यकर्मी सीमा खानले भन्नुभयो, १५ वर्ष पछि झरनामा नुहाउन पाए । यो ठाउँ सुन्दर र आकर्षित छ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।’ सल्लाको सुसेली, चराचुरुङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिएको अनुभाव सुनाउनुभयो ।

बाँकेको राप्ती सोनारीमा रहेको झरना प्रचारप्रसार अभावले चक्ला पत्थर झरना ओझेलमा परेको मानव अधिकारकर्मी सरिला घर्ती मगरले बताउनुभयो । उहाँले यसको प्रचारप्रसार गरी देश विदेशसम्म पुर्‍याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेमा आशावादी रहेको बताउनुभयो । अधिकारकर्मी मगरले कोरोनाकालमा यो झरनामा स्थानीय पर्यटक दैनिक ५० देखि १०० जना सम्म आउने गरेको जानकारी दिनुभयो ।

नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको नेकपा (माओवादी केन्द्र) राप्ती सोनारी ७ का अध्यक्ष कालुराम थारुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button