तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हिन्दू–मुस्लिमले एक आपसमा मिलेर लगाए दसैँको टीका (फोटोफिचर)

बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादशैंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका छन् ।

शनिवार हिन्दुहरूको महान् पर्व बडादसैँका अवसरमा मुस्लिम अगुवाहरूले धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका हुन् ।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाउनुभयो ।

उहाँले दशैं, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दुहरूको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ ।”

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको जानकारी दिनुभयो ।

बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एक आपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएका छन् ।

यसैगरी, प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका लगाउनुभएको छ । उहाँले आफूले टीका र जमरा ग्रहण गरेपश्चात् आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुभयो । सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button