तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालबाट दनुवार भाषामा समाचार प्रसारण हुने

काठमाडौँ । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रसारण गर्न लागेको हो । 

रेडियो नेपालले आगामी असोज ३० गते दिनको ३ः१५ बजेबाट दनुवार भाषामासमेत समाचार प्रसारण सुरु गर्न लागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ । 

नेपाल सरकारका प्रवक्ता एवं माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त भाषाको समाचार शुभारम्भ गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिनुभयो ।  

रेडियो नेपालले दनुवार जागरण समिति लगायतका सरोकारवालाहरूको अनुरोध र  भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भूषण दासले जानकारी दिनुभयो । 

दनुवार भाषा विशेषगरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायत ६२ वटा जिल्लामा बोलिने भाषा हो । यो समुदायको कुल जनसङ्ख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार ८२,७८४ अर्थात् कुल जनसङ्ख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्क अनुसार नेपालमा दनुवार भाषा बोल्नेको सङ्ख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसङ्ख्याको ०.१७ प्रतिशत हो । 

दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यकासाथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो । 

भाषा आयोगले अति सिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाँसिल गरेको थप उपलब्धी भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button