तपाईँ सुन्दै हुनुहुन्छः

धानबालीमा रोगको प्रकोप, उत्पादन घट्ने किसानको चिन्ता

बाँके । बाँके जिल्लाका कोहलपुर, बैजनाथ, र खजुरा क्षेत्रका किसानहरू धानबालीमा विभिन्न रोगको प्रकोप देखिएपछि चिन्तित छन्।

धान पाक्ने समयमा बाला नलाग्दै धानको बोट सुक्न थालेको, बाला लागे पनि दाना भुसजस्तो देखिएको, र पतेरो किराले चुसेको जस्तो देखिने समस्या देखिएको छ। यस्ता रोगहरूका कारण यस वर्षको धान उत्पादनमा भारी कमी आउने किसानहरूको अनुमान छ।

कोहलपुर ४ का कृषक मोहम्मद समि लगायतका किसानहरूले सिँचाइको व्यवस्था मिलाएको भए पनि धानमा देखिएको रोगले उत्पादनमा समस्या आएको बताएका छन्। मोहम्मद समिले १२ कठ्ठा जमिनमा गतवर्षको ‘सौरव’ जातको बीउ पुनः प्रयोग गरेका थिए, तर यस वर्ष सम्पूर्ण बाला निस्के पनि दाना भुसजस्तै देखिएको छ।

कृषकहरूका अनुसार, गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने निश्चितजस्तै देखिएको छ। बोटहरू सुक्न थालेपछि र रोगको प्रकोपले किसानहरू थप निराश बनेका छन्। यद्यपि कृषि विज्ञहरूले केही दिनअघिको तापक्रम वृद्धि र अन्य वातावरणीय कारणले यस्तो समस्या उत्पन्न भएको हुनसक्ने बताएका छन्।

कृषकहरूको समस्या समाधानका लागि कोहलपुर नगरपालिकाले विज्ञ टोलीसहित विभिन्न क्षेत्रमा अनुगमन थालेको छ। कृषि विकास शाखा प्रमुख चन्द्रबहादुर बुढाका अनुसार, धानको नमुनाहरू सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिने र रोगको पहिचानपछि थप समाधानका उपायहरू लागू गरिने जानकारी दिनुभयो।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार, यस वर्ष जिल्लाभर करिब ४० हजार हेक्टरमा धानखेती गरिएको छ। विशेषगरी ‘राधा ४’ धान जातमा बढी समस्या देखिएको छ। यस समस्याको समाधानका लागि अभियान सञ्चालन गर्दै किसानहरूलाई उन्नत बीउको प्रयोग गर्न सल्लाह दिइएको छ।

कृषि विकास शाखाले किसानहरूलाई नेपालमा सूचिकृत बालिका जातहरू प्रयोग गर्न, हाइब्रिड जातका बीउहरू हरेक वर्ष नयाँ प्रयोग गर्न, र उन्नत जातको धान लगाउन अनुरोध गरेको छ। किसानहरूले धान लगाउनु अघि कृषि प्राविधिकसँग परामर्श लिएर काम गर्दा यस्ता समस्याहरूबाट जोगिन सकिने सल्लाह दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button