तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्नेमा मुख्यमन्त्री जोड

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूसँग समग्र जिल्लाको सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

उहाँले प्राकृतिक विपद् व्यवस्थापन, समाजमा शान्ति सुरक्षा स्थापना, समुदायसँग समन्वय लगायतका विषयमा छलफल गर्नुभएको हो । छलफलको क्रममा मुख्यमन्त्री आचार्यले प्राकृतिक विपद्ले निम्त्याउने समस्या न्यूनीकरण र प्रभावकारी व्यवस्थापनको काममा सधैँ तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो । जुनसुकै विपद्को प्रभावकारी व्यवस्थापनमा खटिने गरी योजना निर्माण गर्न जोड दिनुभयो ।

समुदायसँग समन्वय गरेर सुरक्षा निकाय आपतकालिन खोज तथा उद्धार, पुनर्स्थापना लगायतको काममा खटिनुपर्ने, प्रभावितहरूलाई राहत वितरणको प्रक्रिया चुस्त बनाउने विषयमा समेत ध्यान दिन आग्रह गर्नुभएको हो । यस्तै अपराध नियन्त्रण, कानुनी शासनको सुदृढीकरण, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरूको जिम्मेवारी र तिनका चुनौतीका बारेमा समेत छलफल भएको थियो ।

छलफलमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button