तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज 

मुगु । छायाँनाथरारा नगरपालिकामा निर्माण गरिएको चैन खोला झोलुङ्गे पुल सफलतापूर्वक सम्पन्न भएको छ। 

१४४,.४४ मिटर लम्बाइ र २७ मिटर उचाइको यो पुलले स्थानीय बासिन्दाहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ, जसले गाउँ र बजारलाई सिधा रुपमा जोडेको छ।

यो पुल निर्माणका लागि कुल ३ करोड ११ लाख ९५ हजार ७ सय १० रुपैयाँ ७ पैसाको लागत लागत रहेको बताईएकोछ । परियोजना २०८१ साल वैशाख ३१ गते सम्झौता भई निर्माण कार्य सुरु गरिएको  थियो र  २०८१ पुस  मसान्त सम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भए पनि  फिनिसिङ बाहेक पुलको सबै काम सकिएको छायाँनाथरारा नगरपालिकाका सब इन्जिनियर कर्णराज भामले बताउनु भयो । कर्णाली इम्फास्ट्रक्चर डेभलपमेन्ट सर्भिस प्रालिले यो पुल निर्माणको जिम्मा लिएको थियो ।

पुलको निर्माणले गाउँबाट बजारसम्म पुग्नको लागि आवश्यक समयलाई उल्लेखनीय रुपमा घटाएको छ। पहिले कठिन बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता हटाउँदै, अब स्थानीयहरूलाई सजिलै र सुरक्षित रूपमा बजारमा सामान किनमेल र व्यापार गर्न सहज हुने छायाँनाथरारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिनुभयो ।

 पुलले शिक्षादीक्षा, स्वास्थ्य सेवा र आर्थिक  क्रियाकलापका  लागी गाउँ बस्तीमा बजारीकरणमा समेत टेवा मिल्ने अपेक्षा गरिएको छ। 

नगरपालिकाले स्थानीय जनताको आवश्यकता सम्बोधन गर्दै यो महत्त्वपूर्ण पूर्वाधार परियोजना निर्माणको लागि सम्बन्धित निर्माण कम्पनी सँग सहकार्य  गरि  पुल निर्माण गरिएको  छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो । 

स्थानीय बासिन्दाहरूले पुलको निर्माणलाई आफ्नो जीवनस्तर सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन् र यसले सम्पूर्ण क्षेत्रको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button