तपाईँ सुन्दै हुनुहुन्छः

बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनः व्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताउनुभएको छ ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उहाँले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँदामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिँदै उहाँले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताउनुभयो । 

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

टोलीमा प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button