तपाईँ सुन्दै हुनुहुन्छः

खुर्कोटको पुलमा एमपिवि जोडियो : शनिवारसम्म यातायात सुचारु हुने


सिन्धुली, खुर्कोट। असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुलमा नेपाली सेनाले एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछापलाई जोडेको छ ।

बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले बुुधबार बेलुुका एमपिवि राखेर दुुई जिल्ला जोडेको हो । सो अवसरमा रामेछापबाट निर्वाचित प्रतिनिधिसभा सदस्य उर्जा राज्यमन्त्री कान्छाराम तमाङको समेत उपस्थिति रहेको थियो ।

असोज २२ गते बुुधवारबाट एमपिवि जडानको काम सुुरु नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौ दिनमा असोज ३० गते बुधवारनै जडानको प्रारम्भिक काम सकेर दुुई जिल्ला जोडेको हो । तामाकोशी– मन्थली– खुर्कोट सडक अन्र्तगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभागमा बर्षापछिको बाढीले क्षति गरेको थियो ।

अब एमपिवि (मोडुलर प्यानल ब्रिज) को डेकिङ युनिटको काम सुरु हुने र शनिवारसम्म जडानको काम पूर्ण रुपमा सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयाे ।

तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको पुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताउनुभयाे ।

पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्ट्रक्सनको काम सकेर असोज २२ गते बुधवारबाट ब्रिज कन्ट्रक्सनको काम सुरु गरिएको थियो ।

बाढीले बनेपा– बर्दिवास वीपी राजमार्ग र खुर्कोटको पुलमा क्षतिगरेपछि दोलखा, रामेछाप, ओखलढुुङ्गा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुुपाल्चोकका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

नेपाली सेनाले खुुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा सकेर प्रशंसनिय काम गरेको दोलखा मेलुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकर बताउनुभयाे । पुलमा क्षति भएपछि दोलखा लगायत १० भन्दा बढी जिल्लाका बासिन्दालाई आवत जाओतमा समस्या भएको थियो थोकरले भन्नुभयाे– नेपाली सेनाको सक्रियतामा चाँडै पुल जडानको काम सकिएकोले तिहारमा सहज हुने भएको छ ।

खुर्कोटको पुल निर्माणको लागि नेपाली सेनाले प्राविधिक काम गरिरहेको छ भने सडक विभागले सामान उपलब्ध गराउने लगायतका काम गरिरहेको सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर प्रदिप तमाङले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button