तपाईँ सुन्दै हुनुहुन्छः

थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम  सुरु

चन्द्रौटा (कपिलवस्तु) । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय डिभिजन कार्यालय रुपन्देहीले सोमबारबाट ५ दिवसीय तालिम सुरु गरेको हो । 

थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बरघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको बताउनुभयो । पछिल्लो समुदाय बरघर प्रथा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । थारु समुदायको हक हितका लागि बरघर प्रथा आवश्यक रहेको समेत थारुले उल्लेख गर्नुभयो। 

जिल्लाको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा सोमबार आयोजित ५ दिवसीय तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । थारु समुदायको संस्कृति, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ति बरघरहरुको सशक्त नेतृत्व विकास हुन आवश्यक रहेको सदस्य थारुले जनाउनुभयो । बरघरले गाउँघरमा हुने गरेका स–साना घटना न्यूनीकरण गर्न सकारात्मक भूमिका निर्वाह गरेको उहाँले जनाउनुभयो । समुन्नत समाजमा सकारात्मक भूमिका खेल्ने बरघर प्रथालाई टोल विकास संस्थाले विस्थापित होइन, सशक्त बनाउनुका साथै पूर्णरुपमा कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ ।

यस्तै थाकसाकी केन्द्रिय सदस्य सुमित्रा थारुले खासगरी थारु समुदायको अस्तित्व जोगाउने युवा पुस्ता गैर जिम्मेवार देखिएको बताउनुभयो । उहाँले पुर्खौली रीतिरिवाज बचाउन सबै थारु समुदायका अगुवा एक हुन जरुरी रहेको दाबी गर्नुभयो । थाकसा कपिलवस्तु जिल्ला सभापति पवन कुमार चौधरीले थारु बाहुल्यता रहेको पालिकामा पालिका स्तरीय बरघर समिति गठन गर्ने र स्थानीय सरकारसँग समन्वय गर्दै क्षमता विकास तथा संस्कृति संरक्षणका कार्यक्रमहरू गर्ने योजना रहेको बताउनुभयो । 

पहिलो चरणमा बरघरहरुलाई नेतृत्व क्षमता विकास तालिम भएको छ । अब केही सातामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लक्षित थारु समुदायमा दोस्रो चरणमा सीपमूलक तालिम सञ्चालन हुने अधिकृत जनक राज खनालले जानकारी दिनुभयो । तालिममा कपिलवस्तुको विजयनगर, शिवराज, महाराजगञ्ज र बुद्धभूमि लगायत पालिकाका विभिन्न गाउँका दुई दर्जन बढी बरघर तथा थारु समुदायका अगुवाहरूको सहभागिता रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ । 

प्रशिक्षक डा. कृष्णराज सर्वहारीले थारु बरघरले गर्नुपर्ने काम कर्तव्य र कानुनी प्रवर्धनका विषयमा थारु जातिको इतिहासबारे जानकारी दिएको जनाइएको छ । कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्य, लेखा अधिकृत बिनोद पौडेल लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button