तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीका ६० हजार घरधुरीमा विद्युतीकरण

गुल्मी । गुल्मी जिल्लामा ६० हजार घरधुरीमा केन्द्रिय विद्युतीकरण पुगेको छ । जिल्लाका १२ वटा स्थानीय तह मध्ये मुसिकोट नगरपालिका वडा नम्बर १, २, ८ र ९ , मालिका गाउँपालिकाको वडा नम्बर १, २ र ३ बाहेकका ६० हजार घरधुरीमा विद्युत् लाइन पुगेको हो ।

जिल्लामा केन्द्रिय विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ । विगतको वर्षमा भन्दा यस वर्ष ११ सय ग्राहक सङ्ख्या बढेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ । जसमा ३ दशमलव ४ प्रतिशतले ग्राहक सङ्ख्या बढे सँगै धेरै ठाउँमा विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरण गुल्मीका वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा सामुदायिक विद्युतीकरणबाट पनि विद्युत् आपूर्ति भइरहेको छ । सामुदायिक विद्युत्बाट २६ हजार र नेपाल विद्युत् प्राधिकरणबाट ३४ हजारले सेवा लिएका छन् ।

नेपाल विद्युत् प्राधिकरण गुल्मीले विगतको वर्षमा भन्दा यस वर्ष बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । यस आर्थिक वर्षमा वितरण केन्द्र गुल्मीले १४ करोड ८५ लाख ५० हजार राजश्व जम्मा गरेको हो । अघिल्लो वर्षको बक्यौता पनि उठाउन सफल भएको वितरण केन्द्र गुल्मीका प्रमुख पोखरेलले बताउनुभयो ।  

वितरण केन्द्र गुल्मीले पुँजीगत तर्फ लाइन मर्मतमा ९० प्रतिशत प्रगति गरेको छ । काठको पोललाई विस्थापित गर्ने काम पनि तीव्र रुपमा अगाडी बढेको छ ।

केन्द्रिय विद्युतीकरण नभएको जिल्लाको मुसिकोट नगरपालिका १, २, ८ र ९ मा पनि लाइन विस्तार हुने भएको छ  । साथै आवश्यक प्रक्रिया अगाडी बढेको छ । त्यस्तै मालिका गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पनि टेन्डर भएको छ । आर्थिक वर्ष २०८१/०८२ भित्र गुल्मीमा पूर्ण विद्युतीकरण हुने पोखरेलले बताउनुभयो ।

   जिल्लामा अहिले १३२ केभीको लाइन मार्फत विद्युत् सेवा सुचारु भएको छ । जिल्लाको उनाएचौरमा सवस्टेशननिर्माण गरेर विद्युत् वितरण हुँदै आएको छ । यसअघि जिल्ला बुटवलमा रहेको सवस्टेशनबाट ३३ केभीए मार्फत विद्युत् वितरण हुँदै आएको थियो । अहिले जिल्लामै सवस्टेशन निर्माण गरेर विद्युत् वितरण हुँदा विद्युत् सेवा पनि  भरपर्दो हुँदै आएको छ । 

यसले जिल्लामा उनएचौरमा सब स्टेसन निर्माण भएपछि पाल्पा र अर्घाखाँचीबाट लाइन लिनुपर्ने बाध्यताको अन्त्य भएको पोखरेलले बताउनुभयो । पहिला भन्दा लाइन घेरै सुधार रहेको उहाँको भनाइ छ । जिल्लामा लाइन उत्पादन गर्ने दुई ओटा हाइड्रोपावर रहेका छन् । रुरु हाइड्रोपावर , रिडी हाइड्रोपावर रहेका छन् । 

जिल्लाका लागि चाहिने भन्दा विद्युत् उत्पादन धेरै रहेको छ । उत्पादित विद्युत् केन्द्रिय प्रसारण लाइनमा पुग्ने गरेको छ ।जिल्लामा मुसिकोट र मालिकामा साना लघु आयोजनाबाट पनि विद्युत् उत्पादन हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button