तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा: गृहमन्त्री लेखक

कञ्चनपुर  । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु नै रहेको बताउनु भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको बुधबार बिहान उद्घाटन गर्नुहुँदै मन्त्री लेखकले दुई ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच सात बुँदे समझदारी गर्दै नागरिकको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको बताउनु भयो ।
२०४६/०४७ सालको आन्दोलनमा मिलेर जाँदा पञ्चायती व्यवस्थालाई परास्त गरी लोकतान्त्रिक बहुदलीय व्यवस्था कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, दश वर्षे सशस्त्र द्वन्द्वलाई पनि मिलेरै शान्तिमा परिणत गरेको बताउनु भयो । त्यसपछि पनि अन्तरिम संविधान बनाउनेदेखि संविधान सभाबाट नयाँ संविधान जारी गरिएको र त्यसको कार्यान्वयन भइरहेको हुँदा देशको विशिष्ट कार्यभार सम्हाल्न सहमति र सहकार्य मार्फत सरकार सञ्चालन गर्न लागिएको धारणा राख्नु भयो ।
पछिल्लो समयमा मुलुकमा देखा परेको सरकारको अस्थिरता, राजनीतिक अस्थिरता र त्यसैका कारण मुलुकमा उत्पन्न अन्यौलता र नागरिकमा देखा परेको निराशालाई समाप्त गरेर सरकारको स्थिरताका साथै भ्रष्टाचार नियन्त्रण, मुलुकमा सुशासन ल्याउन, शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, जनतालाई सहज सेवा प्रवाह गर्न, विकासका कार्यलाई तीव्रता दिन र संविधानको समीक्षा गर्दै आवश्यक रहेका धारा उपधाराहरू संशोधन गर्न दुई ठुला दलहरू मिलेर नयाँ सरकार गठन गरिएको स्पष्ट पार्नुभयो ।
नागरिकलाई अधिकतम सेवा प्रदान गर्ने वातावरण बनाउनका लागि पनि सुरक्षा निकायका भौतिक संरचना अत्यावश्यक रहेको मन्त्री लेखकको भनाइ छ । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ससाना युनिटहरूका लागि आवश्यक भौतिक संरचना निर्माणमा बजेटको व्यवस्थापन गर्न प्रदेश सरकारका मन्त्रीलाई अनुरोध गर्दै आफूले जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर लगायतका प्रहरी अधिकारीहरू र विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button