तपाईँ सुन्दै हुनुहुन्छः

धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करणलाई ‘दशौंमा दश इभेन्ट’ द्वारा उत्सवमय बनाइने

बाँके । धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करणलाई विशेष र उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । 

यस अन्तर्गत नेपालमै पहिलोपटक असोज ३ गते राति १० किमी रात्रीदौड आयोजना गर्दै ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ। रनिङ संस्कृति प्रवर्धन गर्न असोज ५ गतेदेखि हरेक शनिवार वर्षभरि ‘साप्ताहिक रन’ कार्यक्रम पनि सञ्चालन गरिनेछ, जसको प्रमुख जिम्मेवारी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई दिइएको छ। यस कार्यमा बाँके जिल्ला एथ्लेटिक्स सङ्घले साझेदारी गर्नेछ।

दशौं म्याराथनलाई लक्षित गरी स्कुल र कलेजहरूमा ओलम्पिकको मूल्य र खेलकुदको महत्त्वबारे ‘लेक्चर सिरिज’ पनि आयोजना गरिनेछ। विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै खेलकुदको भूमिका र शान्तिका लागि योगदानबारे छलफल हुनेछ। यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ। चाहनाले म्याराथनको अपरेसन टिममा समग्र व्यवस्थापनको जिम्मा लिनुहुनेछ। शाह ट्रायथलनकी अन्तर्राष्ट्रिय निर्णायक समेत हुनुहुन्छ । २०२२ मा ग्रीसको ओलम्पिक युथ एम्बेसडर कोर्स पनि गरिसक्नुभएको छ।

मङ्सिर २२ गते धारा नेपालगञ्ज म्याराथनको मुख्य दौड आयोजना गरिने संस्थापक टीएस ठकुरीले जानकारी गराउनुभएको छ। म्याराथनको पूर्वसन्ध्यामा मङ्सिर ५ गते गौघाट ग्रीन रन, दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, दशक रत्न सम्मान लगायतका कार्यक्रमहरू गरिनेछ। म्याराथनको रुट एम्सले प्रमाणीकरण गरेको र नेपालगञ्ज र कोहलपुरलाई जोड्ने छ।

यस म्याराथनले हरेक वर्ष ५ मंसिरमा शान्ति सम्झौताका दिनको स्मरण गर्दै शान्ति, विकास, र समृद्धिको प्रतीकका रूपमा दीप प्रज्वलन गर्दै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button