तपाईँ सुन्दै हुनुहुन्छः

लोक सेवा आयोगबाट सिफारिस २७ नयाँ जनशक्तिलाई सामूहिक नियुक्ति पत्र

काठमाडौँ I रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले लोक सेवा आयोगबाट सिफारिस भई आएका २७ नयाँ जनशक्तिलाई सामूहिक रुपमा नियुक्ति पत्र दिएको छ । 

रेडियो नेपालको केन्द्रिय कार्यालयमा आज आयोजित नियुक्ति पत्र वितरण समारोहमा  रेडियो नेपालले इन्जिनियरिङ सेवा समूहतर्फका ११, सञ्चार तथा कार्यक्रम सेवा समूहतर्फका  ७ र प्रशासन सेवा समूहतर्फका ९ गरी २७ जनालाई नियुक्ति पत्र दिएको हो । 

समारोहमा कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नवप्रवेशी कर्मचारीहरूले रेडियो नेपालको पहुँच वृद्धि र प्रसारणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यकारी निर्देशक केसीले सार्वजनिक प्रसारण उन्मुख रेडियो नेपालको प्रसारणमा सुधार गर्दै लोपोन्मुख वर्ग र समुदाय लक्षित विषयवस्तु उत्पादन गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । 

रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकीले रेडियो नेपालको संस्थागत सुधारमा नवनियुक्त कर्मचारीहरूको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । 

सञ्चालक समिति सदस्य बुढाथोकीले ऐतिहासिक महत्व बोकेको रेडियो नेपाल कुनै  विश्वविद्यालयभन्दा फरक नरहेको भन्दै यसको भित्री पक्षसम्म पुगेर अध्ययन गर्न आग्रह समेत गर्नुभयो । 

नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले ऐतिहासिक संस्था रेडियो नेपालमा नियुक्त भएकोमा नवप्रवेशी जनशक्तिलाई स्वागत गर्दै संस्थाको श्रीवृद्धिमा नवप्रवेशी जनशक्तिको महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । 

नायव कार्यकारी निर्देशक खत्रीले सकारात्मक सोच लिएर अघि बढ्न सके आफू र आफू रहेको संस्थाको विकास हुने भन्दै त्यसका लागि ऊर्जा प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले रेडियो नेपाल र यहाँको जनशक्तिको लगन र परिश्रमले गाउँ-गाउँदेखि देश-विदेशसम्म चिनाएको बताउँदै नयाँ जनशक्तिले यसमा थप अभिवृद्धि गर्दै लैजाने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button