तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु नष्ट

अर्घाखाँची । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा अर्घाखाँचीमा बजार अनुगमन गरिएको छ । 

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका चाउमिन उद्योग,मिष्ठान्न भण्डार तथा होटलहरुमा अनुगमन गरिएको हो । सदरमुकाम भित्र रहेका ५ ओटा चाउमिन उद्योग, केही मिष्ठान भण्डार र होटलहरुको अनुगमन गर्दा करिब दश हजार बराबरको अखाद्य मिठाइ,तेल लगायतका बस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा पटक पटक निर्देशन दिँदासमेत अटेर गर्ने केही पसलहरूको खाद्य गुणस्तरको टिम बोलाएर अनुगमन गरिएको हो । अनुगमनका क्रममा अखाद्य बस्तु भेटिएका व्यवसायी लाई सचेतना दिइएको र आगामी दिनमा गल्ती दोहोरिए कडा कारबाही गरिने उद्योग अधिकृत सन्तोष खनालले बताउनुभयो ।

अर्घाखाँचीमा सञ्चालित केही चाउमिन उद्योग , होटल , मिष्ठान भण्डारहरूले सरसफाइसँगै आफूले उपभोक्ताहरूलाई दिने खाद्य समानको गुणस्तर ,व्यवसाय दर्ता , नवीकरण , नापतौल प्रमाणपत्र ,उपभोतmाले प्रयोग गर्ने समानको लेबलको अवस्था लगायतका विषयमा अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण रुपन्देहीका प्रतिनिधि टुकराज पाण्डेले बताउनु भयो ।

विशेष गरेर अनुगमनमा चाउमिन उद्योग,होटल र मिष्ठान भण्डारमा प्रयोग गर्ने तेलको लेबर नाप्दा अधिकांशले पटक पटक पुरानै तेल प्रयोग गर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने खालको तेल प्रयोग गरेकाले नष्ट गरिएको हो ।

अर्घाखाँचीमा जिल्ला प्रशासन , घरेलु , उद्योग वाणिज्य संघ , चेम्बर अफ कमर्स , पत्रकार महासङ्घ लगायतको टिमले निरन्तर अनुगमन गर्दा अधिकांश व्यवसायीमा सचेतनामा वृद्धि हुदैआएको भएतापनी चाउमिन उद्योग,होटल र मिष्ठान भण्डारमा अझै सुधार आउन नसकेको  अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button