तपाईँ सुन्दै हुनुहुन्छः

यार्सा टिप्न गएकी जुम्लाकी विष्णुमायाको डोल्पामा निधन,चार युवा अलपत्र

जुम्ला । यार्सा सङ्कलन गर्न गएकी पातारासी गाउँपालिका वडा नम्बर-१ स्यालागडी गाउँ निवासी विष्णुमाया ऐडिको मृत्यु भएको छ ।

यार्सा सङ्कलनका लागि गएकी ऐडिको डोल्पाको प्यारी गुफा लेकमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको हो । घर खर्चको जोहो गर्न यार्सा सङ्कलन गर्न विष्णुमाया डोल्पाको पाटनमा पुगेकी थिइन् । वैशाख २७ गतेका दिन डोल्पाको प्यारी गुफा लेक नजिक अचानक माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि  विष्णुमायाको मृत्यु भएको पातारासीका स्थानीय श्रीराम थापाले जानकारी दिनुभयो । विष्णुमायाको मृत्युसङै दुई छोरा छोरी आमा विहीन बनेका छन् । मृतक ऐडिका अन्दाजी ८ वर्षका छोरा र १० वर्षकी छोरी बिचल्लीमा परेको वडाध्यक्ष लालसिंह ऐडिले बताउनुभयो । 

वडाध्यक्ष ऐडिका अनुसार शव जुम्ला ल्याउन सम्भव नभएकोले पाठनमै गाडेर अन्तिम संस्कार गरिएको छ । यसैबीच यार्सा सङ्कलन गर्न गएका जुम्ला पातारासीकै चार जना युवा डोल्पाका विभिन्न पाटनमा अलपत्र परेका छन् । पातारासी गाउँपालिका ३ का चार जना युवाहरू डोल्पाको साल्दाङ फोतगाउँ पासुक क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । उहाँका अनुसार अलपत्र पर्नेमा पातारासी ३ मोहरी गाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका छन् । 

चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेका छन् । अलपत्र परेका चारै जना युवाको उद्धारका लागि सबै निकायसँग अपिल गरिएको अध्यक्ष बोहोराले उल्लेख गर्नुभयो । जुम्लाबाट संघ प्रदेशमा प्रतिनिधित्व गर्ने सांसददेखि गृह मन्त्रालयमा समेत उद्धारमा सहयोग गर्न माग गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button