तपाईँ सुन्दै हुनुहुन्छः

मेट्रोका विद्यार्थी: बिहान पढ्छन्, दिउसो छुर्पीदेखि बिस्कुट बनाउँछन्

दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरू किताब मात्रै पढ्दैनन्, पढेको कुरा सिक्छन् पनि । बिहान किताब पढ्छन् र दिउसो त्यही अनुसार प्रयोगात्मक गर्छन् । त्यसकै एउटा परिणाम हो– विद्यार्थीहरूले बनाएको छुर्पीदेखि बिस्कुटसम्मका परिकार । कलेजमा फुड एण्ड डेरीमा अध्ययनरत विद्यार्थीहरूले छुर्पी,गुदपाक, बिस्कुट, किम्बुको जाम,रसबरी अचार, कोदोको मम ,क्याच अप लगायतका परिकार बनाएका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अन्तर्गत बनाएका ती सामग्रीहरु शनिबार पर्दशन गरेका थिए ।“किताबमा पढेको कुरालाई व्यवहारमा उतार्नका लागि यसरी विभिन्न परिकार बनाएका हौँ”, विद्यार्थी सीमा नेपालीले भनिन्“ बिहान पढ्ने र दिनभर परिकार बनाउने गर्छौं ।” आफूहरूले उत्पादन गरेको कुरालाई बजारीकरण कसरी गर्न सकिन्छ, भन्ने पनि यो सिकाइले भूमिका खेल्ने उनको भनाई छ । पढाई पछि आत्मनिर्भर बन्न सकिने र उत्पादन गुणस्तर मापनका लागि पनि प्रयोगात्मक गरिरहेको खाद्य प्राविधिक जुनु भट्टराईले बताइन् ।

आइतबार उनीहरूले उत्पादन गरेका बस्तुहरू प्रदर्शन गरेका हुन् । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बजारको आवश्यकता अनुसार रैथाने कुराहरू उत्पादन गर्नुपर्ने बताए । ‘खाद्य स्वच्छता र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजारमा बिक्ने खालका सामग्री उत्पादन गर्नुपर्ने बताए । उनले भने “हामीले उत्पादन गरेको बस्तु उपभोक्ताले खोज्नु पर्‍यो  ।”

त्यस्तै निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले अर्ग्यानिक खाना नै अहिले उपभोक्ताले माग गरिरहेको भन्दै यस तर्फ ध्यान दिनुपर्ने बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले गुणस्तर हीन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उत्पादित बस्तुको खाद्य स्वच्छता मापन गरेर मात्रै बजार पठाउनु पर्ने बताइन् ।

कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button