तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा तेस्रो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो हुँदै 

चितवन । चितवनमा तेस्रो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो हुने भएको छ । 

नेपाल पोल्ट्री महासङ्घ र इण्डियन पोल्ट्री इक्युमेन्ट म्यानुफ्याक्चर्स  एशोसियसनको संयुक्त आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्स्पो हुन लागेको हो । 

नेपाल पोल्ट्री महासङ्घले आज भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोल्ट्री क्षेत्रको विकास र ज्ञान अनुभव साटासाट गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ ।

भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा हुने एक्स्पोमा १५ देशका विज्ञान, नवीनतम प्रविधि तथा विज्ञहरूको सहभागिता रहने नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिनुभयो  । 

एक्सपोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका विषयमा बिज्ञहरुबीच पोल्ट्री पाठशाला सञ्चालन गरिने अध्यक्ष बिष्टले बताउनुभयो । उहाँका अनुसार एक्सपोमा विदेशी नवीनतम प्रविधिको साथै नेपालका पोल्ट्री व्यवसायीबीच अन्तरक्रिया हुनेछ ।

अध्यक्ष बिष्टले पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपोमार्फत पहल गरिने बताउनुभयो । 

चितवनमा २०५२ सालमा पहिलोपटक पोल्ट्री एक्सपो गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा दुई सयको हाराहारीमा स्टल रहने नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । 

१५ देशका १० हजारले एक्सपो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button