तपाईँ सुन्दै हुनुहुन्छः

हज यात्रीको नेपालगञ्जमा भावपूर्ण बिदाई

बाँके । हज गर्न साउदी अरबको मक्का मदिना जान लागेका बाँकेका हज यात्री (हाजी) हरूलाई उहाँका आफन्तजनले भावपूर्ण बिदाई गरेका छन् । बीपी चोक स्थित इदगाहमा अबेर साँझ उहाँहरूलाई बिदाई गरिएको हो ।

बिदाई गर्न महिला, पुरुष लगायतका सयौँ आफन्त ओइरिएका थिए । छुट्टिनुपर्दाको पीडा आफन्तका आँखामा प्रस्टै देखिन्थ्यो । एक अर्कालाई लामो अङ्कमाल गर्दा हज यात्री ‘भुलवश भएका गल्ती र कमी कमजोरी’ बिर्सन पनि  अनुरोध गरिरहेका थिए । १ सय १३ हाजी तीर्थ गर्न हिँड्नु भएको छ । 

इस्लाम धर्ममा पैसा हुने मुस्लिमले जीवनमा एकपटक हज गर्न अनिवार्य मानिन्छ । त्यसो नगरे अल्लाह ले नै फैसला गर्ने धार्मिक विश्वास छ । एक पटक हज गर्न जाँदा झण्डै साढे चार लाख रुपैयाँ सम्म खर्च हुन्छ । पैसा नहुने हरूलाई भने त्यो अनिवार्य छैन । तर, उनीहरूले पनि धार्मिक ग्रन्थ कुरान मा उल्लेख भए अनुसारका कर्म गर्नुपर्छ । मुस्लिम इत्तेहाद सङ्गठनका बाँके अध्यक्ष मोहम्मद सफिक बेहनाका अनुसार, पाँच पटक नवाज पढ्नु र रोजा बस्नु भने सबैलाई अनिवार्य छ ।

हज गर्नु त्यत्तिकै कष्टकर पनि छ । मक्का मदिनाबाट हज गरेर फर्किदा कम्तीमा पनि एक महिनाको समय लाग्छ । बाटोमा उत्तिकै समस्या हुन्छ । त्यसैले आफन्तहरू सुरक्षित यात्राको कामना गर्छन्  बेहनाले भन्नुभयो, पुरुष/महिला दुवै हज गर्न सक्छन् । तर, महिलाको हकमा भने साथमा मेहरम (भाई, छोरा, श्रीमान्) हुनु जरुरी रहेको बताउनु भयो । 

मक्का, मदिना इस्लाम धर्मको सबैभन्दा ठुलो र पवित्र तीर्थस्थल मानिन्छ । सरकारले प्रत्येक बर्ष हज यात्रीहरूका लागि निश्चित कोटा तोक्ने गरेको छ । यसपटक नेपालबाट ७५३ कोटा स्वीकृत भएको हो । बाँकेबाट १ सय १३, बर्दियाबाट ८, सुर्खेतबाट ४, दाङबाट ७ जना रुपन्देहीबाट २ र अर्घाखाँचीबाट १० जना हाजी अल्लाहको प्राथनाका लागि मक्कामदिना जान लागेका हुन । 

हज कमिटीका अनुसार, उहाँहरू राजधानीबाट जेष्ठ ५ गते साउदी अरबको मक्कामदिनामा हज गर्न जान पाउने भएका छन् । हाजीहरूलाई बिदाइ गर्न नेपालगञ्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दीन राई, जामा मस्जिदका महासचिव इरफान सिद्धिकि, मुस्लिम अगुवा ज्याउल हक लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button