तपाईँ सुन्दै हुनुहुन्छः

‘लघु जलविद्युत् र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा जोड दिनुपर्छ’

ललितपुर । देशका सबै नागरिकलाई स्वच्छ ऊर्जा उपलब्ध गराउनका लागि लघु जलविद्युत् र नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियाका वक्ता एवं सहभागी सरोकारवालाहरूले लघु जलविद्युत्बाट दूरदराजका धेरै जनतालाई सहयोग पुग्ने गरी विद्युत् उत्पादन भएकाले यस क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले लघु जलविद्युत्का लागि सहज हुनेगरी आवश्यक ऐन, कानुन तथा नीति नियमको व्यवस्था गरिने बताउनुभयो । “लघु जलविद्युत्को उत्पादन, प्रसारण, वितरण र व्यवस्थापनमा उपभोक्ताका हितमा काम गर्छौं, आयोगबाट वैकल्पिक ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि महत्त्वपूर्ण काम गर्छौं,” उहाँले भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युत् नियमन आयोगले वैकल्पिक ऊर्जा क्षेत्रको नियमन र भएका समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो ।

“वैकल्पिक ऊर्जाका क्षेत्रमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा छ, यो हाम्रो प्रयासका कारण भएको हो, यसले राज्यका लागि महत्त्वपूर्ण कानुन बन्ने छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग र आवश्यकताका आधारमा ऊर्जा प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेकै छ । आगामी दिनमा अझै प्रभावकारी रूपमा हामीहरू क्रियाशील हुनेछौँ”, उहाँले भन्नुभयो ।

विद्युत् नियमन आयोगका सदस्य डा मधुसूदन अधिकारीले जीवनको उर्वर समय नवीकरणीय ऊर्जा क्षेत्रमा बिताएको जानकारी गराउँदै ऐन, कानुन र नियमको व्यवस्थापन गरेरै भए पनि आयोगबाट वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गरिने बताउनुभयो ।

कार्यक्रममा लघु जलविद्युत् विज्ञ सुरेन्द्रभक्त माथेमा र कृष्ण देवकोटाले लघु जलविद्युत् आयोजनाको भविष्यका बारेमा प्रस्तुतीकरण गर्दै नेपालमा बनेका तीन हजार पाँच सयभन्दा बढी लघु जलविद्युत् आयोजनामध्ये हाल एक हजार आठ सयभन्दा बढी आयोजना सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।

सन् १९६० को दशकदेखि सुरु भएको लघु जलविद्युत् आयोजनालाई पछिल्लो समय सरकारले ध्यान नदिएको उहाँहरूको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button