तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले पोल बगायो, रुकुम पूर्वका जनता चार दिनदेखि अँध्यारोमा

रुकुम । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले विद्युत्को पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका दुई हजार पाँच सय ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सब स्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभिए केन्द्रीय प्रसारण लाइनमा पर्ने चारवटा पोल ढलेका छन् ।

“हाम्रो टोली रानीकोटमै छ, सडक नखुलेको र पानी परिरहेका कारण लगातार पहिरो खसिरहेको छ ।

त्यसैले विद्युत् सेवा सञ्चालन गर्न हामीलाई समस्या भएको छ, सडक खुलेसँगै विद्युत् सेवा पनि सञ्चालनमा आउँछ”, विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले भन्नुभयो ।

अहिले जिल्लाका तीन वटा पालिकामा रहेका प्राधिकरणको लाइन जोडेका ग्राहकहरू अँध्यारोमा बस्न बाध्य छन् ।

विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथाउत्तरगङ्गा गाउँपालिकामा विद्युत् प्राधिकरणबाट प्रवाह हुँदै आएको विद्युत् सेवा विस्तारलाई तीव्रता दिँदै आएको छ ।

पहिरोका कारण पोल ढलेर चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरूमा काम गर्न समस्या भएको छ । त्यस्तै, विद्युत् नभएका कारण जनजीवन प्रभावित भएको छ । मोबाइल चार्ज गर्नलगायत अन्य काम गर्न समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button