तपाईँ सुन्दै हुनुहुन्छः

उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उहाँले प्रदेश लोक सेवा आयोगमार्फत उपसचिव तहसहित ७५ प्रतिशत कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको हो ।

जनप्रतिनिधिहरूको संस्थाले नीति, कानुन पारित गर्ने र कर्मचारी संयन्त्रले त्यसको कार्यान्वयन गर्ने भएकाले कर्णालीमा अभाव भएको कर्मचारी जनशक्ति परिपूर्तिमा जोड दिइने उहाँले बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा कोहलपुर–सुर्खेत १३३ केभी प्रसारण लाइनमा निकुञ्ज क्षेत्रमा आएका समस्या समाधान गरेको, उद्योग, वाणिज्य व्यवसायको दर्ता र नवीकरणको समस्या हल गर्नुका साथै बड्डीचौर–सुर्खेत ३३ केभी प्रसारण लाइन वीरेन्द्रनगरसम्म पुर्‍याउन जोड दिएको जनाउनुभयो ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा छ । छलफल अब नयाँ ढङ्गबाट सुरु हुन्छ ।” सङ्घीय संरचना भए पनि मानसिकता भने केन्द्रीय संरचना अनुसार हुँदा अपेक्षित रुपमा काम गर्न नसकिएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले कुनै पनि निर्णय यथोचित समयमै गरेर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक परिस्थिति बदलिँदा प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ भयो यद्यपि सरकार बाटो सुधारमा लागि रहेको छ ।”

उहाँले चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा सदनमा गरेको दलीय सहमति हुबहु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button