तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ : उपसभामुख राना

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सांसदहरु राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्न सक्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को आज स्थलगत निरीक्षण गर्दै उपसभामुख रानाले विधायिकाको भूमिकाबारे उल्लेख गर्दै दल र सत्ताको स्वार्थभन्दा माथि राखेर जनता तथा राष्ट्रको हितमा काम गर्न सुझाव दिनुभयो ।

“कतिपय समयमा सदन र संसदीय समितिमा सांसदहरूको गणपूरक सङ्ख्या नपुगेर स्थगन भइरहेको अवस्था छ । विधायिकाको भूमिका सामान्य हैन”, उहाँले भन्नुभयो, “हरेक अङ्ग सङ्गठित र मजबुत हुनुपर्यो । एक अर्कालाई दोषारोपण गरेर मात्र हुँदैन । हाम्रो धेरै अभ्यास सत्तामा केन्द्रित भयो, त्यो रणनीति पनि हो । तर राष्ट्रिय हितका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनै पर्छ ।”

उपसभामुख रानाले स्थिर सरकार नहुँदा पनि समस्या भएको बताउनुभयो । उहाँले संसद्को प्रभावकारी सञ्चालनका लागि शीर्ष दलका नेताहरू पनि एउटै विन्दुमा आउनुपर्नेमा जोड दिनुभयो । सदन निष्पक्ष र प्रभावकारी सञ्चालन गर्न उपसभामुखको भूमिकामा आफू प्रयासरत रहेको उहाँको भनाइ थियो । उपसभामुखको भूमिकामा उठ्दै आएका प्रश्नलाई आफूले चिर्ने उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो ।

सभामुख र सचिवालयको सहकार्यका लागि सांसदहरूको क्षमता अभिवृद्धिमा लागिपरेको उपसभामुख रानाले बताउनुभयो । “‘उप’, ‘चुप’ भन्ने भाष्य खडा भएको छ । यसलाई म सधैँ खण्डन गर्छु”, उहाँले भन्नुभयो, “सदन निष्पक्ष र प्रभावकारी ढङ्गले सञ्चालन गर्नु मेरो दायित्व हो । तर म एक सांसद पनि हो । मेरा अनुभव र ज्ञानका आधारमा कसैलाई आरोप प्रयारोपबिना पनि सम्मानपूर्ण व्यवहार गरेर उपसभामुखले प्रतिक्रिया एवं धारणा राख्न पाउनुपर्छ ।”

बालबालिका, महिला, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका मुद्दा सदनमा पर्याप्त मात्रामा उठान गर्नुपर्ने उपसभामुख रानाको भनाइ छ । निष्पक्ष र स्वतन्त्र पत्रकारिताबाट सुशासन कायम राख्न सम्भव हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button