तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउनसुगरसहित चार जना पक्राउ

भद्रपुर, झापा । झापाको झापा गाउँपालिका–४ स्थित मसानघाट क्षेत्रबाट नियन्त्रित लागु औषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतको किसनगञ्जस्थित हल्दावान वडा नं. ८ बस्ने बर्ष ३० का मो.आलम र सोही ठाउँका २८ वर्षीय मदिउर रहमानलाई ८ ग्राम ३० मिलिग्राम ब्राउनसुगर, २ वटा मोवाइल र ९१७० भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, ब्राउनसुगरसहित दुई जना दमक नगरपालिका–९ बुद्धटोल बस्ने २० वर्षीय अजय राई र उनकै कोठामा बस्ने २५ वर्षीय विकल बिशुङखे पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले राईको सुत्ने कोठामा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने खैरो रङ्गको २ ग्राम लिसाइलो पदार्थ, एउटा डिजिटल तराजु, नगद सात हजार र दुई थान मोबाइल बरामद गरेको थियो ।

पक्राउ परेका सबैलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button