तपाईँ सुन्दै हुनुहुन्छः

नौ महिनामा भुटानसँग ५० करोडको व्यापार घाटा

झापा । चालु आर्थिक वर्षको नौ महिनामा नेपालले छिमेकी मुलुक भुटानसँग पूर्वी काँकरभिट्टा नाकाबाट ५० करोड रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ ।

 नेपालले निर्यात गर्ने मालवस्तुको तुलनामा आयात बढी भएका कारण साउनदेखि चैत महिनाको अन्त्यसम्म यी दुई देशबीच हुने व्यापार भुटानको पक्षमा मजबुत देखिएको हो ।

यस अवधिमा भुटानबाट नेपालले ९० करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात गर्दा ४० करोड ५६ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

आयातभन्दा निर्यात ५५ प्रतिशतले कम भएका कारण नौ महिनामा नेपालले ५० करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो ।

भुटानबाट आयात हुने मुख्य वस्तुमा सिमेन्ट उद्योगहरूका लागि चाहिने कच्चा पदार्थ जिप्सन प्रमुख हो । भुटानबाट आलुलगायतका कृषि उत्पादन पनि नेपाल आयात हुने गर्छ । त्यस्तै नेपालबाट धातुका अवशेषहरू, स्न्याक्स नुडल्स, चीजबल, चिप्सलगायतका वस्तु भूटान निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।

सुरुका केही वर्ष अघिसम्म भुटानसँगको व्यापारमा नाफामा रहेको नेपालले पछिल्लो केही वर्षयता लगातार घाटा व्यहोरिरहेका विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button