तपाईँ सुन्दै हुनुहुन्छः

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई ‘थिङ्क ट्याङ्क’को रूपमा विकास गर्न तथा आफ्नै भवनबाट संस्थाका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो ।

शुक्रबार काठमाडौँमा भएको इप्पानको २२औँ साधारण सभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र वल्लभ पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी सङ्गठन भएकाले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरू संस्थागत रूपमा सङ्कलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।

रु तीन करोड सङ्कलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरूबाट रकम सङ्कलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ ।

इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जिडिपी), बैङ्क तथा वित्तीय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सिर्जनामा पुर्याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूमा देखिएका समस्याहरूको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्याङ्क र सामग्री प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा सम्मानित पूर्व ऊर्जासचिव सुमन शर्माले आफूले ऊर्जा ज्योति सम्मानबापत पाएको रु एक लाखमा थप एक लाखसहित रु दुई लाख दिने घोषणा गर्नुभएको छ । यसैगरी यस कोषमा इप्पान सदस्य टी एन आचार्यले ‘भिजन इनर्जी’को तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले भवन निर्माण कोषमा पनि रु एक लाख दिने घोषणा गर्नुभयो ।

यसैगरी पाँच वर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि यसअघि इप्पान पूर्व अध्यक्ष डा सुवर्णदास श्रेष्ठले रु दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको रु ३४ लाखसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ । भवन निर्माणका लागि शुक्रवारको वार्षिक साधारण सभामा इप्पान सदस्य कुबेरमणि नेपालले आफ्नो जलविद्युत् कम्पनीबाट रु दुई लाख, नवीन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत् कम्पनीबाट रु दुई लाख र इप्पान सदस्य टी एन आचार्यले भिजन इनर्जीको तर्फबाट रु एक लाख भवन निर्माणका लागि सहयोगको घोषणा गरिसक्नुभएको छ ।

इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्यसमितिबाट दुवै कोषमा सहायता सङ्कलन गर्नुका साथै सबै ऊर्जा प्रवर्द्धक कम्पनीहरूबाट सहायता लिएर अध्ययन, अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button