तपाईँ सुन्दै हुनुहुन्छः

एक एक मतको उच्च सम्मान गर्दै  काम गर्ने छु : सुहाङ नेम्बाङ

इलाम । इलाम क्षेत्र २ बाट  नव निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले जनताको एक एक मतको उच्च सम्मान गर्दै काम गर्ने बताउनुभएको छ । उहाँले इलामे जनताको  शिर झुक्न नदिने र बुबाको पथमा लाग्ने बताउनु भयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेपछि नेम्वाङले सो कुरा बताउनुभएको हो । साथै उहाँले मतदातालाई धन्यवादसमेत दिनुभयो ।  मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले  नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, इलाम क्षेत्र  १ प्रतिनिधि सभा सदस्य महेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

आज बिहान सम्पन्न मतगणनामा  नेम्बाङ  ५ हजार ८३० मतान्तरसहित विजयी हुनुभएको हो ।  नेम्वाङले  २७ हजार ७७२ मत ल्याउनु भएको थियो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याउनु भयो ।  

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो, रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् । ६९ हजार ३७४ मत गणना भएको थियो । ९०२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button