तपाईँ सुन्दै हुनुहुन्छः

राज्यको प्राथमिकतामा उद्यमशीलता: मन्त्री भण्डारी

काभ्रे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 

काभ्रेपलान्चोकको सीमा क्षेत्र भक्तपुरको सूर्य विनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबिच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताउनुभएको हो । 

“उद्योगजन्य, खानी तथा खनिज जन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरूलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलता विकासले रोजगारी सृजना हुन्छ, काम गर्ने अवसर प्राप्त हुन्छ र सरकारको आन्तरिक राजश्व वृद्धिमा पनि टेवा पुग्नेछ ।”

मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । “निजी होटेल, रिसोर्ट निर्माणले पर्यटकीय गन्तव्य बढ्दछन्, पर्यटन ‘हब’का रूपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ”, उहाँले भन्नुभयो । नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “तेस्रो लगानी सम्मेलन सम्पन्न हुँदा नेपालको उद्योग, पर्यटन, कृषिमा सरकारले प्राथमिकीकरण गरेका क्षेत्रहरूमा मित्रराष्ट्रका लगानीहरूलाई हामी भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले नेपालको आन्तरिक स्रोत र साधनको उपयोग गर्न सक्यौँ भने उद्यमशीलतामार्फत व्यापार घाटा न्यूनीकरण हुँदै जाने अपेक्षा गर्नुभयो । 

उहाँले भन्नुभयो, “असन्तुलन भएको व्यापार घाटा न्यूनीकरणका लागि पनि आन्तरिक स्रोत र साधनको उपयोग र उपभोग गर्नै पर्छ ।” जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले सरकारले उद्यमशीलताका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गरी रोजगारी सृजना गर्न सके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button