अपाङ्गता भएका जीवन सुनार १६ वर्षेदखि गिट्टी कुटेर जीविकोपार्जन गर्दै
सम्पत्तिको नाममा एक रोपनी जग्गा भएका सुनार जन्मजात अपाङ्गता (दुवै खुट्टा नभएका) हुन । बैसाखीको भरमा उनी हिडडुल गर्ने गर्दछन् । उनले भने ‘२०५८ सालमा दार्माबाट सल्लीबजार आए सम्पतिको नाममा एक रोपनी आबादी घरबास भएको जग्गा मात्र छ । त्यसमा खाद्यबाली उत्पादन नहुने भएकाले १६ वर्षदेखि गिट्टी कुटेरै जीवन निर्वाह गर्दै आइरहेको छु ।’
‘सरकारले दिने भत्ता नाम मात्रको भएको बताउँदै सुनारले औषधी उपचार गर्नसमेत नपुग्ने बताए । उनले भने, ‘आफूले गर्नसक्ने काम भएकाले गिट्टीलाई नै आयआर्जनको माध्यम बनाएको छु ।’
दिनभरिमा २ बोरा गिट्टी कुटदै आएको सुनारले बताए । उनका अनुसार बोराको ६० रुपैयाँमा गिट्टी हुने गरेको छ । उनले हप्ताभरि कुटेको गिट्टी एकैपटक बिक्री हुने गरेको छ । ‘खुट्टाको समस्याले अरु केही काम गर्न सकिदैन, घर नजिकै बसेर गिट्टी कुट्छु, उनले भने, ‘अहिले गिट्टी नै मेरो सहारा बनेको छ ।’ पक्की घर निर्माणको ठेक्का लिएका व्यवसायीले गिट्टी खरिद गर्ने गरेको उनले बताए ।
बिहान ६ बजेदेखि वेलुकी ६ बजेसम्म गिट्टी कुटै आइरहेको उनले बताए । एकजनाको ज्यान गिट्टी कुटेकै रकमबाट घरको चुलो बन्ने गरेको सुनारको भनाई छ । मजदुरी गर्ने उनका भाइले बिहान संकलन गरिदिएको ढुंगाबाट सुनारले गिट्टी उत्पादन गर्ने गरेका छन् ।
‘फुर्सदको समय बिताउन पनि सजिलो भएको छ, आम्दानी पनि हुन्छ,’ उनले भने, ‘कहिलेकाँही भाइको परिवारमा गाह्रोसाह्रो पर्दा हेरफेर गर्ने गरेको छु, गिट्टी कुटेर कमाएको रकमले राम्रै निर्वाह भइरहेको छ ।’ बिक्री गर्न समस्या नभएकाले गिट्टी कुटेर ठिकै आम्दानी भएको उनको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्