तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा आगलागीका घटना हुँदा ५ करोड भन्दा धेरैको नोक्सानी 

उदयपुर । उदयपुरमा यो बर्ष सुख्खा मौसम सुरु भएसँगै सुरु भएको आगलागीबाट ५ करोड भन्दा धेरैको क्षति भएको छ ।

गत फागुन महिना यता उदयपुरमा ७१ स्थानमा आगलागीका विभिन्न  घटना घट्दा ५ करोड ४३ लाख १४ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

उदयपुरमा जङ्गलमा लागेको डढेलोबाट मात्र ३९ वटा घटना घटेको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय उदयपुरका अनुसार जिल्लामा अहिले सम्म ३ सय ८३ हेक्टर वन  क्षेत्रमा डढेलो लागेको छ । उदयपुरमा जङ्गलमा लागेको डढेलो गाउँ पस्दा ४९ वटा घर, ४७ वटा ग्वाली, ५ वटा बाख्राको खोर जलेर नष्ट भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका २२ सामुदायिक वन क्षेत्रको २ सय ८३ हेक्टर र डिभिजन वन कार्यालय कटारी त्रिवेणी मातहतका ११ सामुदायिक वन क्षेत्रको  एक सय हेक्टर वनमा डढेलो लागेको छ । 

वन डढेलोको मुख्य कारणहरू चोरी शिकारी, चरीचरण र अवैध वन प्रवेश नै भएको स्थानीयको बुझाई छ । नेपालमा सामुदायिक वन स्थापना भएको झन्डै ४ दशक समय व्यतीत भइसक्दा समेत स्थानीयमा सचेतनाको कमी हुनु वन डढेलोको प्रमुख कारण मान्न सकिन्छ । डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत जागेश्वर शाहका अनुसार हरेक सामुदायिक वन मार्फत डढेलो रोकथामका लागि सचेतना अभियान सञ्चालन गरेको भएपनि डढेलो नियन्त्रण हुन सकेको छैन । 

वन क्षेत्रमा लागेको डढेलो गाउँ पस्दा मात्र उदयपुरमा ३ करोड ७४ लाख ३४ हजार ५ सय बराबरको क्षेती भएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय उदयपुरसँग रहेको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए । उनका अनुसार सुख्खा मौसम सुरु भए सँगै  हरेक दिन जिल्लामा कहींन कहीँ आगलागीको घटना हुनेगरेको छ । जिल्लामा आगलागीका नियन्त्रणका लागि आठ पालिकामध्ये तीन नगरपालिका चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका सँग मात्र एक एक वटा गरि तीन दमकल मात्र रहेका छन् जुन अपर्याप्त रहेको स्थानीयको भनाई छ ।

अहिले उदयपुरको चार नगरपालिका र चार गाउँपालिका आगलागीबाट अछुत छैन । अधिकांश वनको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायले नियन्त्रण टोली विभिन्न ठाउँमा खटाएको छ ।

आगलागीबाट घरबारविहीन पीडितहरूको व्यवस्थापनमा चुनौती देखिएको छ । उनीहरू राहतको पर्खाइमा छन् । भने हालसम्म ४४ घर परिवारले मात्र राहत पाएका छन् ।

उदयपुरमा विभिन्न कारणले भएका आगलागीका घटना वाट ८६ वटा चौपायाको मृत्यु भएको छ भने ३३ चौपाया घाइते भएका छन् । आगलागीमा कुनै पनि मानवीय क्षेती भने भएको छैन यद्धपी ५ जना घाइते भएका छन् ।

उदयपुरमा गत फागुन २०८० देखी हाल सम्म वन डढेलो बाहेक बस्तुहरूलाई खोले पकाउने क्रममा १३, अचानक विधुत सट भएर ११ र कारण नखुलेका ८ आगलागीका घटना हुँदा १ करोड ६८ लाख ७९ हजार ५ सय बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

हाल उदयपुरको ताप्ली गाउँपालिका ३ शिखरपुर र वडा नम्बर ४ को  रुपाटार, कटारी नगरपालिका ११ खानीडाँडा लगायतका क्षेत्रमा डढेलो लागिरहेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । तीव्र हावाहुरी र वन क्षेत्रमा डढेलो रहिरहेका कारण कुनै पनि बेला थप आगलागीका घटना घटना सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button