तपाईँ सुन्दै हुनुहुन्छः

निङ्गलाशैनी खेल मैदानको विस्तार 

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं. २ देहिमाण्डौस्थित निङ्गलाशैनी खेल मैदानमा क्रिकेट प्रतियोगिता भयो भने दशरथचन्द राजमार्गमै सीमारेखा हालेर खेलाउने गरिन्छ । 

क्रिकेट प्रतियोगिता सञ्चालनका बखत सवारी साधनहरूलाई सडकमा रोक्न दिइदैन् भने, खेल सञ्चालन गर्न मुस्किल पर्दछ । अहिले भने उक्त मैदानको केही हदसम्म स्तरोन्नति गरिएको छ । मैदान ठुलो बनाउन जमिन अभाव भएपनि भएको जमिनलाई कटान गरि मैदान बिस्तार गरिएको हो ।

दशरथचन्द नगरपालिकाको ८ लाख रकम बजेटमा मैदानको विस्तार गरिएको दशरथचन्द नगरपालिका वडा न.२ का वडाअध्यक्ष सूर्य बहादुर बोहराले बताउनुभयो । 

“हालसम्म ६ लाख ५० हजारको काम सम्पन्न भएको छ, अब बाँकी रकममा प्याराफिट बनाएर मैदानलाई व्यवस्थित गर्ने तयारीमा छौँ ।” उहाँले भन्नुभयो, “यो मैदान जिल्लाकै पायक पर्ने ठाउँमा छ, जिल्ला सदरमुकाम नजिक भएकाले खेल अधिकांश प्रतियोगिताहरू यसै मैदानमा हुने गर्दछन् । त्यसकारण यो मैदानको स्तरोन्नति गर्नु जरुरी रहेको छ ।”

निर्माणाधीन मैदानमा हालका लागि सवारीसाधन पार्किङमा रोक लगाएको छ । यस मैदानमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड, जिल्लास्तरीय क्रिकेट तथा क्लबहरूले गरेका क्रिकेट प्रतियोगिताहरू, भलिबल, ब्याडमिन्टन, कराते लगायतका सबैजसो प्रतियोगिताहरू हुने गरेका छन् । स्थानीय खेलाडीहरूले दैनिक अभ्यास खेलहरू खेल्ने गर्दछन् । यसै मैदानबाट खेल जीवन सुरु गरेका दर्जनभन्दा बढी खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरूमा आबद्ध छन् ।

निङ्गलाशैनी भगवती मन्दिरको मेला स्थलकोमा रुपमा रहेको यस मैदानमा वर्षमा दर्जनभन्दा बढी पटक जात्राहरू लाग्ने गर्दछन् । गौरा, तिज, दशै तिहार, अनन्त चतुर्दशी, महाअष्टमी, जमानी जात, चैते दशैका बेला लाग्ने जात्रामा हजारौँ दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ । सो समयमा यहाँ भव्य रूपले देउडा प्रतियोगिताहरू हुने गरेका छ । 

यो ठाउँ मौसमका दृष्टिकोणले चिसो ठाउँका रुपमा परिचित भएकाले गर्मीको समयमा हुने जिल्ला स्तरीय अधिकांश खेलहरू यस मैदानमा हुने गरेका छन् । 

मैदानको केही हदसम्म स्तरोन्नति गरिए पनि अझै क्रिकेट खेलका लागि पर्याप्त भइसकेको छैन । मैदानको एकापट्टी देहिमाण्डौँ बजार तथा सडक र अर्को पट्टी वडा कार्यालय लगायतका संरचना रहेकाले जमिन अभावमा मैदानलाई आवश्यकता अनुसार विस्तार गर्नसक्ने अवस्था भने छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button