तपाईँ सुन्दै हुनुहुन्छः

चितवन गोल्डकप : आयोजक बिएफसी क्वाटर फाइनलमा प्रवेश

चितवन । प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा आज (शुक्रबार) सम्पन्न खेलमा बिएफसीले राईजिङ स्टारलाई ३–२ ले पराजित गरेको हो । बिएफसीको जितमा राज भुसालले दुई तथा सन्जीब बिष्टले एक गोल गरे । राईजिङ स्टारका फागुराम थारु र कप्तान बिनोद केवतले एक–एक गोल फर्काए ।

खेलमा सुरुवाती १२ मिनेट भित्रै तीन गोल भएको थियो । तेस्रो मिनेटमा राजले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा सञ्जीवले बिएफसीको अग्रता दोब्बर बनाए ।

सुरुवाती १० मिनेटमा नै दुई गोलले पछि परेपछि राईजिङ स्टार दबाबमा परेको थियो । १२ औँ मिनेटमा फागुरामले फ्री किकमा उत्कृष्ट गोल गर्दै राईजिङ स्टारलाई खेलमा फर्काउने सङ्केत गरे ।

५६ औँ मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३–१ को अग्रता लियो । ६३ औँ मिनेटमा राईजिङ स्टारका कप्तान विनोदले गोल गरे पनि हार टार्न सकेनन् । बिएफसीको जितमा दुई गोल गरेका राज म्यान अफ दि म्याच भए । बिएफसीले अब सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्नेछ ।

प्रतियोगितामा शनिबार हेवीवेट भिडन्त हुनेछ । शनिबार बुटवल लुम्बिनी एफसी र न्यु स्टार सुनसरी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेशनल तथा सह प्रायोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button