तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुले शिष्टाचार भेट गर्नुभएको छ । 

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारतका लेखा परीक्षणका विविध विषयमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रूपक सापकोटाले जानकारी दिनुभयो । 

प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीच हालै भएको सहयोग एवं अनुभव आदानप्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखा परीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखा परीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्न सक्ने गरी सहकार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button