तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा भीषण आगलागी, २ सय घर जलेर नष्ट

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा मङ्गलवार भीषण आगलागी भएको छ । दिउँसो २ बजेदेखि सुरु भएको आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट हुँदा करोडौँ क्षति भएको हो  ।

तीव्र गतिमा हुरी आएको समयमा आगलागी हुँदा ठूलो क्षति भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको  स्थानीयले जनाएका छन् ।  

दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् ।

वडा अध्यक्ष जयकिशोर दासका अनुसार राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्  । उहाँका अनुसार साँझ ६ बजेसम्म पनि आगो पूर्ण  नियन्त्रणमा आएको छैन ।

आगलागीको क्षति बारे विवरण सङ्कलन भइरहेकोले कतिसम्म क्षति भएको भन्ने सम्बन्धमा अझै एकिन नभएको प्रहरीले जनाएको छ । आगलागीमा १ करोडभन्दा बढी क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button