तपाईँ सुन्दै हुनुहुन्छः

रारा जाने नाग्म–गमगढी सडक कालोपत्रे हुँदै

जुम्ला । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य रारा ताल जाने मुख्य पर्यटकीय मार्ग नाग्म–गमगढी सडकको कालोपत्रे गर्न थालिएको छ । नेपाली सेनाले ट्रयाक खोलेर २०६९ पुस १ गतेदेखि सञ्चालनमा आएको सडक करिब १२ वर्षपछि कालोपत्रे गर्न थालिएको हो । 

कुल ९३ किमी दुरी रहेको नाग्म–गमगढी सडक अन्तरर्गत हाल ६ किलोमिटर सडकलाई मात्र कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।  नाग्म–गमगढी सडक अन्तरर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकाया बाडा गाउँदेखि वडा न-२ बोता गाउँसम्म ६ किमी सडक कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर घर्तीमगरले बताउनुभयो

उहाँका अनुसार महावु हुँदै नाग्म–गमगढी सडक निर्माणको ठेक्का अन्तर्गत ३५ करोड लगानी भित्र ६ किमी सडक कालोपत्रे हुन लागेको हो । ०७८ पुष १२ गते सम्झौता भएको उक्त योजना ०८१ को पुसमै सक्नु पर्ने सम्झौता भएको छ । कालोपत्रे देखि नाग्म गमगढी सडकको  अन्य निर्माणको ठेक्का थोदुङ बासना जेभी निर्माण कम्पनीले लिएको सूचना अधिकारी घर्तीले जानकारी दिनुभयो । 

कालोपत्रेका लागि भनेर छुट्टै कुनै बजेट नरहेको र महावु नाग्म गमगढी सडक स्तरन्नोती अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमी सडक कालोपत्रे गर्न थालिएको उहाँको भनाई छ । ९३ किमी दुरीको उक्त सडकको ३२ किमी रोकाया बाडा देखि ३८ किमी बोतासम्म बीचको ६ किमी कालोपत्रे गर्ने योजना रहेको छ । 

बहुवर्षीय योजनाका रुपमा नाग्म–गमगढी सडक स्तरबृद्धि भइरहेको छ । यद्पी, उक्त सडकको कालोपत्रेका लागि सङ्घीय सरकारले छुट्टै बजेट विनियोजन गर्न सकेको छैन । सडक डिभिजनले पटक पटक माग गरेपनि सुनुवाई भएको छैन । 

जुम्ला प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीले आफ्नो कार्यकारी नाग्म–गमगढी सडकको कालोपत्रे गरेरै छाड्ने बाचा गरेका छन् । अन्य सांसदहरुले पनि बेला बेला उक्त सडकको विषयमा चासो व्यक्त गरिरहेका छन् । तर देखिने खालको कुनै काम हुन सकेको छैन । 

तत्कालका लागि ६ किमी मात्रै पिच भएपनि दैनिक यात्रा गर्ने यात्रु र पर्यटकले राहत पाउने अपेक्षा गरिएको छ । 

हालसम्म पूर्ण सडक ग्राभेल समेत नभएको अवस्थामा सिंजा उपत्यका हुँदै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । कर्णाली राजमार्गको एक लेनको सडकमा जोखिम मोल्दै आएका पर्यटकले नाग्म–गमगढी सडकमा धुलो धुवाले कष्ट व्यहोर्ने गरेका छन् । 

तर अधिकांश ठाउँमा ग्राभेल र ६ किमी दुरी कालोपत्रे भएपछि रारा आउने पर्यटकलाई विगतको भन्दा केही सुविधा हुने अपेक्षा गरिएको सिंजा सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताउनुभयो । सबै सरोकारवालाको पहलले उक्त सडकको कालोपत्रेका लागि रातो किताबमै बजेट ल्याउन सकिएको खण्डमा केही वर्षमा काम सकिने उहाँको भनाई छ ।

तर कर्णालीको पहुँच केन्द्र सरकारमा नपुग्दा र केन्द्रले कर्णालीको भूगोललाई समेटेर बजेट नदिँदा हाम्रा विकास आयोजना सधैँ उपेक्षामा पर्ने गरेको उल्लेख गर्नुभयो । बजेट अभावकै कारण कर्णालीमा पूर्वाधार विकासका आयोजना निर्माणमा ढिलाइ हुने गरेको छ ।  सडकखण्डमा पानी व्यवस्थापन गर्न नाला बनाउने,पहिरो रोक्न पक्की पर्खाल बनाउने लगायत सडक चौडा बनाउने काम समेत भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

कर्णाली राजमार्ग र नाग्म–गमगढी सडकलाई सुधार गर्न सकेमा पर्यटक अपेक्षाअनुसार आउने छ । भौगोलिक अवस्था र विकासमा सरकारी उपेक्षा गर्दा कर्णालीमा एक पटक आएको पर्यटक फेरी आउने अवस्था छैन । कर्णालीमा पर्यटक टिकाउन मुख्यतया होटल बास सडक पूर्वाधारकै समस्या देखिएकोले कर्णालीमा पर्यटनको सम्भावनालाई मध्यनजर गरी पूर्वाधार निर्माण सरकारले विशेष ध्यान दिनुपर्ने कर्णालीवासीको माग छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button