तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले संसदमा बलमिच्याइँ गरेको छैन : मन्त्री गिरी

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षको विरोधका बाबजुद सरकारले सङ्घीय संसद्मा बलमिच्याइँ नगरेको स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा मन्त्री गिरीले प्रमुख प्रतिपक्षले उठाएको विषय सम्बोधन गर्न सरकार तयार रहेको र सहमतिका निम्ति हरेक कोणबाट छलफल भएकोले प्रतिपक्षलाई पेलेर जाने सरकारको सोच नरहेको बताउनुभयो ।

यस्तै बैठकपछि कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिपक्षको आवाजलाई सरकारले सुन्न नसकेको बताउनुभयो ।

सोही पार्टीका अर्का सांसद डा आरजु राणाले प्रमुख प्रतिपक्षको मागप्रति सरकार गम्भीर नभएको गुनासो गर्नुभयो ।

यस्तै बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदीय छानबिन समिति बनाउन सरकार तयार रहेको र प्रमुख प्रतिपक्ष दल काँग्रेससँग पनि छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सांसदको गतिरोध अशोभनीय भएको र छानबिन समिति बनाउन सरकार पक्षका दलहरू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button