तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमशील बन्ने बाटोमा महिलाहरू

नेपालगञ्ज । नेपालगन्जकी नानीमाया पुरी विवाहको सगुन एवम् शृङ्गार सामग्री बनाउन व्यस्त हुनुहुन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको ४५ दिने तालिम लिएपछि धम्बोझीकी पुरी विवाहको सगुन एवम् शृङ्गार सामग्री बनाउन व्यस्त हुन थाल्नुभएको हो । पुरीले घुंघट, दुबोको मालामा लगाउने जडी, सुपो, छाता, डालो, सगुन तथा सजावटको सामानहरू बनाउन सिकेको बताउनुभयो । 

तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारेर उद्यमशील बन्ने शर्तमा उहाँ जस्तै ११ जना महिलाले ४५ दिने तालिम लिनुभयो । आर्थिक तथा शैक्षिकरुपले बञ्चित महिलाहरूलाई सशक्तिकरण गर्न चैत १ गतेदेखि वैशाख २६ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । नारी विकास केन्द्रमा ४५ दिनको तालिम लिइसकेका महिलाहरू अहिले पनि त्यहीँ सामग्री बनाइरहेको अवस्थामा भेटिन्छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले नारी विकासको एउटा हलमै उनीहरूले बसेर सामग्री बनाउन सक्ने गरी प्रबन्ध मिलाएको छ । आफूहरूले तयार पारेको सामग्री बजारमा बिक्री गर्ने हुटहुटी उनीहरूमा देखिन्छ । काठमाण्डौबाट बनेर नेपालगञ्ज बजारमा आउने गरेका विवाह सामग्रीको ठाउँमा अब आफूहरूले नै ती सामग्री बनाएर बिक्री गर्न सक्ने दृढता तालिम सिकेका महिलाहरूमा छ । 

नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत मञ्जु पाण्डेले समुदायबाट ल्याएर एकैचोटी तालिम दिइएको नभई महिला विकास कार्यक्रममा उनीहरुलाई जोडेर विभिन्न चरण पार गर्दै तालिम दिइएको बताउनुभयो । पाण्डेका अनुसार तीन बर्ष अघि लक्षित महिलाका लागि भनेर प्रकाशित गरिएको सूचना अनुसार १२७ जनाको निवेदन परेको थियो । तिनै मध्येबाट छनौट गर्दै अन्तिममा विवाहको सगुन एवम् शृङ्गार सामग्री तालिम ११ जनालाई र हाते कढाई बनाउने तालिम १० जनालाई प्रदान गरिएको हो ।

उद्यम सहजकर्तामार्फत दुई दिने सचेतना तालिम दिएर त्यसबाट पनि छनौट गर्‍यौँ, त्यसपछि सात दिने महिला उद्यमशीलता प्रबद्र्धन तालिम भनेर चलायौँ,महिला शाखा प्रमुख पाण्डेले भन्नुभयो,पढ्न नपाएका वा विद्यालय पुगेर पनि बीचमै पढाई छाडेका, आर्थिकरुपले कमजोर महिलाहरूलाई जीवनोपयोगी सीपमार्फत सक्षम बनाएर आर्थिक उपार्जनमा टेवा पुर्‍याउन यो तालिमको अवधारणा ल्याएका हौँ ।

पाण्डेका अनुसार आर्थिक एवम् शैक्षिकरुपमा कमजोर महिलाहरूलाई सीप सिकाएर उद्यमी बनाई आफैैं सामान उत्पादन गर्ने, आफैँ बजारीकरण गर्ने र आफैँ पसलमा राख्ने तथा बिक्री वितरण गर्न सक्ने बनाउने गरी काम भइरहेको छ । अनलाइनमार्फत पनि आफ्ना उत्पादन बेच्न सक्ने गरी उनीहरुलाई सक्षम बनाउने लक्ष्य छ । ४५ दिने शृङ्गार सामग्री बनाउने तालिम दिनुभएकी प्रशिक्षक सङ्गीता गौतमले तालिम सिकेर महिला दिदीबहिनीहरुले अहिले नारी विकासकै हलमा सामग्री उत्पादन गरिरहेको बताउनुभयो । सफल महिला उद्यमी बन्ने उद्देश्यका साथ उनीहरू सामग्री उत्पादनमा व्यस्त रहेको गौतमको भनाई छ । नेपालगञ्जमा पहिलोपटक यो तालिम आयोजना गरिएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button