तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कोहलपुर भरैयाका युवा

बाँके । परम्परागत खेती गर्दा जीविकोपार्जन गर्न धौधौ भएपछि बाँके जिल्ला कोहलपुर नगरपालिका युवाहरू आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायीक तरकारी खेतीतर्फ आकर्षित बन्न थालेका छन् ।

थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि कोहलपुर १३ भरैयाका कृषक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । कृषकहरूले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

तरकारी खेतीबाट वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको भरैयाका कृषक शेरबहादुर वली बताउनुहुन्छ। २० वर्षको उमेरदेखि तरकारी खेती गर्दै आउनु भएका शेरबहादुर अहिले ५० वर्षको हुनु भयो।

कृषिको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका हुन् ।

भरैयाकै शशीराम वलीले पनि ६ कठ्ठा आफ्नै जमिनमा तरकारी खेती गर्नुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बिस वर्षदेखि आफूले यही पेशा गरिरहेको उहाँले बताउनुभयो । सुरुमा २ लाख लगानी गरेर तरकारी खेती गर्न थाल्नुभएका वलीले सुरुवातमा निकै दुःख भोग्नुपरेको सुनाउनुभयो ।

कहिले तरकारी खपत नहुने, कहिले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको उहाँले बताउनुभयो । जमिन भाडामा लिएर शुद्ध अर्गानीक तरकारी खेती गरेको सुनेपछि जिल्ला कृषि विकास कार्यालयले पनि प्राविधिक सहयोग गरेको वलीले बताउनुभयो । तरकारी व्यवसायलाई जिल्लाकै नमूना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको वलीको भनाई छ । अहिले वार्षिक झण्डै ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुहुन्छ । मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेका बताउँदै वलीले मौसमले साथ दिएमा राम्रो आम्दानी हुने बताउनुभयो ।

’सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेछ,’ वलीकी श्रीमती सबित्राले भन्नुभयो । उहाँले मेहनत र कामप्रतिको लगावले नसोचेको सफलता मिलेको बताउनुभयो । उहाँले गाउँमै ५ जनालाई रोजगारी समेत दिनुभएको छ।

कृषकलाई तरकारी उत्पादनमा कृषि विकास कार्यालय लगायतका स्थानीय तह र सरोकारवाला निकायबाट पर्याप्त प्राविधिक सहयोग हुने हो भने बाँके लगायतका जिल्ला तरकारीमा आत्मनिर्भर त बन्छन् नै, कृषि क्षेत्र आम्दानीको आकर्षक माध्यम पनि बन्ने थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button