तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम रेसुङ्गा मेयर कप फुटबल प्रतियोगिता सुरु

गुल्मी । गुल्मीमा आजदेखि “प्रथम रेसुङ्गा मेयर कप फुटबल प्रतियोगिता २०८१” सुरु भएको छ ।

रेसुङ्गा नगरपालिका गुल्मीले आयोजना गरेको “प्रथम रेसुङ्गा मेयर कप फुटबल प्रतियोगिता २०८१” को उद्घाटन प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले गर्नुभयो ।

प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । पहिलो दिनको खेलमा नगरपालिकाका वडा नम्बर १० र १२ का खेलाडी खेल्ने छन् । त्यस्तै सोही दिन वडा नम्बर ९ र १३ बिच खेल हुनेछ ।

वैशाख २४ गतेबाट सुरु भएको प्रतियोगिता २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा विजेताले नगद ३५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले २५ हजार, मेडल र प्रमाणपत्र पाउने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा १६ जना खेलाडी, १ जना कोच र १ जना अफिसियलसहित १८ जना एक समूहमा सहभागी हुनेछन् ।

खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेता भण्डारीले पछिल्लो समय नेपालमा निजी लगानीमा रंगशाला बनेकोमा खुसी व्यक्त गर्नुभयो । स्थानीय तहमा हुने हरेक कार्यक्रममा युवालाई सहभागी बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा भण्डारीले जोड दिनुभयो ।

प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेलको विकासमा थप टेवा पुग्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

भोलि २५ गते पहिलो पटक रेसुङ्गा नगरपालिकाले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ । सोही अवसरमा “प्रथम रेसुङ्गा मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button