तपाईँ सुन्दै हुनुहुन्छः

बहुउद्देश्यीय गौरीटार रंगशालाको काम द्रुत गतिमा हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा–६, स्थित देशकै दोस्रो ठुलो गौरीटार रङ्गशालामा पछिल्लो समय खेलकुदका संरचना निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

करिब डेढ दशकदेखि निर्माणाधीन रङ्गशालालाई बाग्मती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएसँगै रङ्गशालाभित्र खेलकुदको संरचना निर्माणको कामले तीव्रता पाएको हो ।

वि.सं २०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय खेलकुद प्रतिष्ठानको नाममा गौरीटार रंगशालाको उद्घाटन गर्नुभएको थियो । तर, लामो समय सरकारी बेवास्ताको शिकार बनेको रंगशाला निर्माणका लागि २०७४ मा प्रदेश सरकार गठन भएपछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चासो देखाउनुभयो र रङ्गशालामा केही संरचना थपिन थाल्यो ।

गौरीटार रंगशालाको गुरुयोजनाअनुसार अहिले द्रुतगतिमा काम भइरहेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । २२ बिघा १८ कट्ठा १९ धुर क्षेत्रफलमा फैलिएको गौरीटार रङ्गशालामा अहिले ‘खेलकुदको हब’ बनाउने उद्देश्यसहित खेलकुद विकास परिषद्ले योजनाबद्ध काम गरिरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला
गौरीटार रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका फुटबल रंगशाला, क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको कामले तीव्रता पाएको छ । अहिले रङ्गशालामा फुटबल मैदान निर्माणसँगै प्यारापिटको काम अन्तिम चरणमा पुगेको साथै क्रिकेट रंगशाला र स्विमिङ पुलको कामसमेत तीव्र गतिमा भइरहेको सदस्यसचिव भण्डारीले बताउनुभयो ।

देशकै दोस्रो ठुलो अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको सदस्यसचिव भण्डारीले जानकारी दिनुभयो । ‘फुटबल रंगशाला निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्रै सम्पन्न गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू सञ्चालन गर्ने परिषद्को लक्ष्य छ’, सदस्यसचिव भण्डारीले भन्नुभयो ।, ‘फुटबल रंगशाला देशकै पहिलो प्रविधियुक्त र दशरथ रङ्गशालापछिको ठूलो रंगशाला बन्नेछ ।’ उहाँले भन्नुभयो ।

फुटबल रङ्गशालाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै सदस्यसचिव भण्डारीले रङ्गशालाभित्र चार हजार पाँच सय दर्शक क्षमताको प्यारापिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । रातिको समयमा समेत फुटबल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खेल समेत गर्न सक्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।

फुटबल रंगशाला भित्र खेलाडीहरूका लागी छुट्टै कोठाहरू, आवास गृह, सुविधा सम्पन्न शौचालयहरू, मिडिया सेन्टरका लागी विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुनसक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्नसक्ने चोटपटकको उपचारका निम्ती चिकित्सक बस्ने छुट्टै कक्ष लगायत थुप्रै पूर्वाधार बन्ने सदस्यसचिव भण्डारीले बताउनुभयो । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न करिब ३० करोड खर्च लाग्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला
गौरिटार रंगशाला परिसरभित्रै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला समेत निर्माण भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न मिल्ने क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

१२ करोड लागत अनुमान गरिएको रंगशाला निर्माणको कार्य २०८२ साल असार मसान्तमा अर्थात् १५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित द्रुतगतिमा कार्य भइरहेको छ । क्रिकेट रङ्गशालामा ५ देखि ७ सय जना दर्शक क्षमताको निर्माणाधीन रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत सञ्चालन गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राउण्ड, ड्रेन, स्कोर बोर्ड, साइड स्क्रिन लगायत अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने मापदण्ड सहितको संरचनाहरू निर्माण हुने सदस्यसचिव भण्डारीले बताउनुभयो ।

अभ्यास र प्रतियोगिता दुवै गर्न मिल्ने स्विमिङ पुल
गाैरीटार रङ्गशालामा क्रिकेट रङ्गशालासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न मिल्ने पौडी पोखरी (स्विमिङ पुल) निर्माणको काम पनि चालु आर्थिक वर्षमा नै अघि बढाइएको छ । पौडी पोखरी पनि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम निर्माण हुँदै गरेको सदस्यसचिव भण्डारीले बताउनुभयो ।

प्रदेश सरकारको ९ करोडको लागतमा २ वटा पौडी पोखरी निर्माणको काम पनि द्रुत गतिमा अगाडी बढाइएको भण्डारीले बताउनुभयो । निर्माणाधीन पोखरीमध्ये एउटा अभ्यासका लागि र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरि निर्माण कार्य भइरहेको छ । पौडी पोखरीका खेलका लागी एउटा ब्लकमा प्याराफिट, ड्रेस चेन्जिङ्ग रुमसहित आवश्यक पूर्वाधार निर्माण हुने परिषद्ले जनाएको छ ।

समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम

गौरीटार रंगशाला भित्र अहिले निर्माणाधीन पूर्वाधारको काम समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम भइरहेको छ । ८ करोड ६२ लाख ६१ हजारमा स्विमिङ पुल र ११ करोड ७४ लाख रुपैयाँमा क्रिकेट रंगशाला २०८२ असार मसान्तसम्म सम्पन्न गर्ने गरि निर्माणको ठेक्का सम्झौता भएको छ । 

सम्झौताबमोजिम २ वटा स्विमिङ पुलसहित प्यारापिट निर्माण हुनेछ । क्रिकेट रङ्गशालामा पहिलो चरणमा करिब ६ हजार जना भिआइपी अट्ने प्यारापिट ग्राउन्ड लक स्प्रिङ, ५ वटा क्रिकेट पिच, स्कोर बोर्डलगायत फिनिसिङका कामहरू हुनेछ । 

फुटबलको संरचना निर्माण अन्तिम चरणमा पुगे पनि स्विमिङ पुल र क्रिकेट रंगशाला निर्माणको काम समयमै सक्ने गरि दुई सिफ्टमा काम भइरहेको सदस्यसचिव भण्डारीले बताउनुभयो ।

कुल २१ वटा संरचना बन्ने

करिब २३ बिगाहा क्षेत्रफलमा फैलिएको गौरीटार रंगशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बन्ने भण्डारीले बताउनुभयो । कुल साँढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रङ्गशालाभित्र ९ वटा कभर्डहल, एउटा बहुउद्देश्यीय कभर्डहल, फिटनेस सेन्टर, रेसिङ ट्र्याक, खेलाडी छात्रावास, कार्यालय, ब्लग, कन्फ्रेन्स हललगायत कुल २१ वटा संरचना बन्ने उहाँले बताउनुभयो । उहाँले प्रदेश खेलकुद विकास परिषद्ले जनशक्ति विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button