तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकप : आयोजक फाइनलमा प्रवेश

धनकुटा । धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करणमा आयोजक रारा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

चौबिसे गाउँपालिका ६ राजारानी खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगिहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक रारा फुटबल क्लब उपाधि नजिक पुगेको हो ।

आयोजक राराले खेलको ३६ औँ मिनेटमा शिशिर लेखिले गरेको गोलबाट अग्रता लिएको थियो । खेलको ३९ औँ मिनेटमा पाएको फ्रि किक सदुपयोग गर्दै डाँगिहाटका सञ्जय श्रेष्ठले गोल गर्दा खेल बराबरी भयो । खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा राराका विदेशी खेलाडी तायाले गोल गर्दै टिमलाई २–१ गोलको अग्रतामा पुर्‍याउनुभयो ।

खेलको म्यान अफ द म्याच राराका छिरिङ गुरुङ घोषित हुनुभयो । उहाँले नगद ७ हजार रुपैयाँ र ट्रफि पुरस्कार पाउनुभयो ।

आयोजक राराले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल मङ्गलवार विर्तामोड युनाइटेड क्लब झापा र सिराहाको सलहेश युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो । गत वर्ष प्रतियोगिताका विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको भएपनि यस वर्ष पुरस्कारको राशि बढाएर विजेतालाई नगद ५ लाख रुपैयाँ र उपविजेतालाई नगद २ लाख ५० हजार रुपैयाँ बनाइएको आयोजक समितिका संयोजक मणि चेम्जोङले बताउनुभयो ।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button